काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । झापा अर्जुनधाराका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको हो ।
बुढाथोकीको पार्थिव शरीर झापास्थित निवास शनिश्चरे लगिएको छ । १२ बजेपछि जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिनेछ ।
पूर्वसामान्य प्रशासन मन्त्रीसमेत रहेका उनी निमोनिया, ब्लड प्रेसरमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । पूर्वराजा वीरेन्द्रका ‘क्लासमेट’ समेत रहेका बुढाथोकी कांग्रेसका प्रभावशाली नेता थिए ।
राष्ट्रिय पञ्चायतमा २०३८ सालमा निर्वाचित भएका बुढाथोकी सूर्यबहादुर थापाको जलस्रोत सहायकमन्त्री बनेका थिए । ०४२ सालको सत्याग्रहका पक्षमा बोलेपछि पञ्चायतको कोपभाजनमा परेका बुढाथोकी ०४३ सालको चुनावमा विद्रोही उम्मेदवार बनेर निर्वाचित भएका थिए ।
उनी ०४८ सालको चुनावमा कांग्रेसबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । ०७० सालमा संविधानसभा सदस्य भएका बुढाथोकी सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए ।