साँच्चैका सहकारीहरु संकटग्रस्त हुँदैनन्, ठगहरुले केही ठूला सहकारी बद्नाम बनाएः ओली

Advertisement

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले ठगी गर्नेहरुका कारण केही ठूला सहकारी संकटग्रस्त भएको बताएका छन् । 

आफ्नो पार्टीनिकट कार्यक्रममा बुधबार उनले सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरुले ठूला केही सहकारी बद्नाम र संकटग्रस्त हुन गएको बताए । ओलीले सहकारी संस्थाहरु बदनाम र संकटग्रस्त नभएको जिकिर समेत गरे । 

Advertisement

सहकारीहरु नियममा बसेर अघि बढने हुनाले त्यसले समस्या व्यहोर्नुपर्ने अवस्था नआउने तर्क गर्दै उनले सहकारीको माध्यमबाट भएपनि महिलाहरु उद्यमशीलतातर्फ लाग्नुपर्ने बताए । ओलीले भने, ‘अहिले सहकारीका केही गैरसहकारी, सहकारी होइन, बाहिरका गैरसहकारीवालाहरु, सहकारीलाई माध्यमबनाएर ठगेर खानेहरु प्रवेश गरेको हुनाले केही ठूलो सहकारी बद्नाम भएका छन् । त्यहाँ समस्याग्रस्त भएको छ । ती संकटग्रस्त छन् । तर साँच्चैका सहकारीहरु संकटग्रस्त हुँदैनन् । छैनन् पनि । त्यसका आफ्ना नियमहरु छन् । ती नियम अन्तर्गत त्यसमा नियममा बसेर त्यसको पालना गरेर हामी अगाडि बढ्नुपर्छ ।’

अध्यक्ष ओलीले एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्तिको रुपमा विकास गर्नेगरी परिचालित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । मुलुकलाई समृद्ध बनाउन पनि एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्ति बनाउनुको विकल्प नभएको उनले बताए ।

Advertisement

Advertisement