मेयर बालेनको शैलीलाई काँग्रेसले समर्थन गर्दा गिरिजाप्रसादको अपमान हुने एमाले नेताको तर्क

Advertisement

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको शैलीलाई काँग्रेसले समर्थन गर्नु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईरालामाथिको अपमान भएको तर्क गरेका छन् । 

बिहीवार संसद भवन बाहिर कुरा गर्दै बिहीबार उनले काठमाडौं महानगरका प्रमुख शाहबाट भइरहेको काम स्वभाविक प्रकृतिको नभएको बताए । सामाजिक सञ्जालमा मेयर शाहले विभिन्न स्ट्याटसहरु लेखेर नकारात्मक पथमा समाजलाई हिँडाउने काम गरिरहेको बर्तौलाले जिकिर गरे । 

Advertisement

उनले देश, लोकतन्त्रका लागि लडेको नेताहरुको बारेमा मेयर शाहको टिप्पणी तल्लो स्तरको रहेको बताए । बर्तौलाले भने, ‘जुन तरिकाको शैली महानगरका मेयरबाट भइरहेको छ, त्यो मेयरको हैसियतबाट स्वभाविक प्रकृतिको प्रश्तुतीहरु होइन । सामाजिक सञ्जाल र मिडियामा जुन प्रकारको टिका टिप्पणी र तल्लो स्तरको अभिव्यक्तिहरु आइरहेको छ । स्ट्याटसहरु लेखेर जसरी उहाँले समाजलाई नै नकारात्मक पथमा हिँडाउने गरी उद्वेलित गर्ने प्रयत्न गर्दै हुनुहुन्छ ।’

उनले थपे, ‘शीर्षस्थ नेताहरु जसले देशका लागि लड्नुभयो, लोकतन्त्रका लागि लड्नुभयो, उहाँहरुले गरेको त्याग, तपस्या जेलनेल त्यो यातनालाई मजाकको विषय बनाएर जे प्रश्तुती मेयरबाट भइरहेको छ, त्यो कुरा ठिक छ भनेर यदि नेपाली काँग्रेसका महामन्त्रीज्युले भन्नुहुन्छ भने यो त गणेशमान, गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराईमाथिको अपमान हो । यो व्यवस्था ल्याउनका लागि लडेका सबैको लागि अपमान हो । नेपाली काँग्रेस यस्तै अस्थिरताको बीचमा प्रवेश गर्ने र त्यसबाटै खेल्ने र त्यसबाटै आफ्नो दाउपेच र स्वार्थमा खेल्न खोजेको त होइन भन्ने शंका छ ।’

Advertisement

Advertisement