गृहमन्त्रीलाई विश्वप्रकाशको चुनौति– गिरिबन्धुको फाइल खोल्न सक्नुहुन्छ ?

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टि इस्टेटको फाइल खोल्न तयार हुनुहुन्छ ? भनि गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् । 

बिहीवार संसदमा उनले पूर्वप्रधानमन्त्री केपी ओलीले काँग्रेसले ७० बिघाको कमिसन खाएको भनेर आरोपित गरेको भन्दै सो उपर छानविन गर्न चुनौती दिए । यस प्रकरणमा नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी ओलीलाई मुख्य दोषीको रुपमा औंल्याइएको छ । 

Advertisement

शर्माले गिरिबन्धुको अनुसन्धान गरेर काँग्रेसलाई दण्डित गर्न चुनौती दिँदै फाइल खोल्न तयार हुनुहुन्छ ? भनि गृहमन्त्रीलाई प्रश्न गरे । महामन्त्री शर्माले गृहमन्त्रीले गिरिबन्धु टि इस्टेटको सम्बन्धमा फाइल खोल्न होइन, बोल्न पनि नसक्ने बताए । 

शर्माले ओलीले शिक्षामन्त्रीमाथि गरेको टिप्पणी बारेमा समेत पार्टी सभापति समेत रहेका गृहमन्त्रीले बोल्न नसकेको बताए । उनले भने, ‘म यहाँनिर गृहमन्त्रीजीलाई खोज्न चाहान्छु । सत्ता गठबन्धन दलको सबैभन्दा ठूलो अध्यक्षले कांग्रेसले बेचेर ७० बिघाको कमिशन खायो भनेर जे आरोप लगाउनुभएको छ, त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाई गिरिबन्धुको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ? म जान्दछु खोल्न होइन, बोल्न पनि उहाँ सक्नुहुन्न । बोल्न सक्नुभएको भए शिक्षा मन्त्रीउपरको शब्द फिर्ता लिनुस् पूर्वप्रधानमन्त्रीज्यू उहाँले दमदार ढंगले भन्न सक्नुहुन्थ्यो । नम्रतापूर्वक पनि उहाँले भन्न सक्नुभएन । विवाह कसले कोसँग गर्ने त्यो कुरा व्यक्तिको नितान्त व्यक्तिगत स्वतन्त्रताको कुरा हो ।’

महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग केपी ओली भिडिरहेको भन्दै त्यसरी भिड्नुपरेमा उपमेयर अथवा सम्बन्धित तहका पार्टी प्रतिनिधिलाई लगाउन सुझाव समेत दिए । न्युरोडमा सडकपेटी बढाउनु जरुरी रहेको धारणा राख्दै उनले मेयर बालेनले ठिक काम गरेका समेत बताए । मेयर शाहलाई काम गर्न दिनुपर्ने शर्माले बताए । 

त्यस्तै महामन्त्री शर्माले अदालतले निर्दोष सावित गरेपछि पनि क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न जान नपाएको भन्दै अमेरिका जान नपाउनुमा कहाँ कमजोरी भयो भनि परराष्ट्रमन्त्री र खेलकुदमन्त्रीसँग जवाफ माग गरे । उनले अदालतले गरेको फैसला सुसूचित गराएर भिसाको लागि वातावरण बनाउनुपर्नेमा सरकारले त्यसो गर्न नसकेको बताए । 

उनले सहकारी छानविन विशेष संसदीय समितिले स्वविवेक र तथ्यमा आधारित भएर छानविन गर्ने विश्वास पनि व्यक्त गरे । 

Advertisement

Advertisement