नेपाल खेलकुद महासंघद्धारा क्यान अध्यक्ष चन्दको राजीनामा र पारसमाथि छानबिन गर्न माग

Advertisement

काठमाडौं । नेपाल खेलकुद महासंघले नेपाल त्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेको छ । साथै महासंघले क्यानका सचिव पारस खड्कामाथि पनि छानविन गर्न माग गरेको छ । 

आईतवार राजधानीमा पत्रकार सम्मेलन गरेर महासंघले अध्यक्ष चन्दको राजीनामा र खड्कामाथि छानविनको माग गरेको हो । चन्द अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाललाई विश्वकपको लागि प्रदान गर्ने १५ खेलाडी र १० सपोर्टिङ स्टाफमध्ये प्रशिक्षण समयदेखि अनिवार्य रुपमा हुनुपर्ने टिम डाक्टरलाई टिममा नराखी उक्त स्थानमा आफू र श्रीमतीसहित अमेरिका पुगेको भन्दै नैतिकताका आधारमा राजीनामा गर्न र राजीनामा नगरे कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको छ । 

Advertisement

खेलाडीहरुलाई अमेरिकामा अध्यक्ष चन्दले चन्दा उठाउने हेतुले राती—राती होटलमा खेलाडीहरूलाई उभ्याएको र फोटो खिचाउने काममा लगाएको आरोप लगाउँदै यसबारे सत्यतथ्य छानबिन गर्न पनि माग गरेको छ । 

महासंघका केन्द्रीय सचिव विप्लव घोषले विश्वकप अगाडि क्यान अध्यक्ष चन्दको मिलेमतोमा क्यानका सचिव पारस खड्का अमेरिका पुगेर नेपाली खेलाडीले हस्ताक्षर गरेको ब्याट र टिसर्ट अक्सनमा राखेर बेचेको, अमेरिकामा बसोवास गर्ने नेपालीहरूले चन्दा उठाएर उपलब्ध गराएको रकम हालसम्म क्यानको बैंक खातामा दाखिला नभएको क्यानका स्वयं पदाधिकारी एंव केन्द्रीय सदस्यहरूले कुरा उठाएको बताए । 

यसबारे अविलम्व छानविन गरी दोषीमाथि कारर्वाही गर्न घोषले माग गरे । सन्दीप लामिछाने नेपालका सर्वोत्कृष्ट खेलाडी भएपनि नेपालको १५ सदस्यीय टोलीमा समेटिन नसकेको बारेमा पनि अविलम्व छानबिन गर्न माग गर्दै उनले अमेरिकामा फेम नेपाल नामक संस्थाले क्यानका अध्यक्ष चन्द र उनको श्रीमतीलाई ट्याङ्ग आउट स्पोर्ट्स बार, इर्भिङमा ख्वाएवापत र खेलाडीलाई एकछिन बसाएबापत खेलाडीलाई भेट्न गएका व्यक्तिहरूसँग टिकटको मूल्य ३५ डलर गैरकानूनी रुपमा उठाएको, ८० डलरको गेमको टिकटलाई १३५ डलर लिएर नेपाली दर्शकलाई ठगेको आरोप पनि लगाए । 

विश्वकपको सन्दर्भमा विभिन्न व्यक्तिलाई अमेरिका पठाउने भन्दै भिसा प्रक्रियाको लागि प्रधानमन्त्री कार्यालयको लेटरप्याड प्रयोग गरेर ती व्यक्तिहरुबाट रकम उठाई मानव तस्करी गर्न लागेको र यस कार्य क्यानका पदाधिकारीको मिलेमतो विना असम्भव रहेको भन्दै महासंघले छानबिनको माग गरेको छ ।

क्यानको लेटरप्याडमा नागर्जुन नगरपालिकाका मेयरसहित पूर्व वडाअध्यक्षलाई क्यानका सचिवले विश्वकप अवलोकन गर्नका लागि अनुरोध गरेको पत्र मेयर आफैँले सामाजिक सञ्जालमा प्रकाशित गरेको बारेमा छानबिन गर्न महासंघले माग गरेको छ । सत्यतथ्य पूर्णरुपमा सार्वजनिक नगरेसम्म महासंघले क्रमवद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

Advertisement

Advertisement