वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.२४ खर्बले बढ्यो, कुनको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८०–८१ को ११ महिनामा वाणिज्य बैंकहरुको कर्जा प्रवाह दुई खर्ब २४ अर्ब १५ करोड रुपियाँले बढेको छ । नेपाल बैंकर्स संघबाट प्राप्त जेठ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

नेपालमा हाल २० बाणिज्य बैंक सञ्चालनमा छन् । २०८० जेठ मसान्तसम्म उनीहरुको कुल कर्जा प्रवाह ४३ खर्ब १७ अर्ब ९५ करोड रुपियाँ थियो । चालु आवको जेठ मसान्तसम्म आउँदा त्यो ४५ खर्ब ४२ अर्ब १० करोड रुपियाँ पुगेको छ, त्यो अनुसार चालु आवको ११ महिनामा बाणिज्य बैंकहरुले दुई खर्ब २४ अर्ब १५ करोड रुपियाँ कर्जा थप गरेको देखिन्छ । जेठ महिनामा मात्रै २० अर्ब ४६ करोड रुपियाँ कर्जा प्रवाह भएको तथ्यांकमा उल्लेख छ । 

Advertisement

कर्जा बक्यौता (आउटस्टान्डीङ) को आधारमा यस्तो तथ्यांक देखिएको हो । बैंकहरुको अधिकांश पुरानो कर्जा नियमीत रुपमा फिर्ता भइरहेको छ, त्यसले कर्जाको बक्यौता घटाउँछ । त्योअनुसार संघको विवरणमा नयाँ कर्जा प्रवाहको बास्तविक तथ्यांक देखिन्न । यद्यपि, पछिल्लो समय देखिएको आर्थिक शिथिलताले बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन । 

कर्जाको माग सुस्ताएको भनिरहँदा ऋण प्रवाहमा नबिल बैंक भने आक्रमक देखिएको छ । यो ११ महिनामा नविल बैंकले ४७ अर्ब ९१ करोड रुपियाँले कर्जा प्रवाह बढाएको छ । २०८० असार महिनासम्म नबिल बैंकले कर्जा बक्यौता (आउटस्टान्डीङ) तीन खर्ब ४१ अर्ब४३ करोड रुपियाँ कर्जा थियो । जेठ मसान्तसम्म आउँदा त्यो तीन खर्ब ८९ अर्ब ३४ करोड रुपियाँ पुगेको छ । जेठ महिनामा मात्रै नबिल बैंकले पाँच अर्ब ६५ करोड रुपियाँ कर्जा विस्तार गरेको देखिन्छ । 

कर्जा प्रवाह बढाउने मामिलामा दोस्रो नम्बरमा प्राइम कर्मशियल बैंक देखिएको छ । उक्त बैंकले समीक्षा अवधिमा २९ अर्ब ७३ करोड रुपियाँले कर्जा बढाएको छ । २०८० असारसम्म उक्त बैंकमा कर्जा बक्यौता एक खर्ब ६३ अर्ब ११ करोड रुपियाँ थियो । जेठ मसान्तसम्म आउँदा त्यो एक खर्ब ९२ अर्ब ८४ करोड रुपियाँ पुगेको छ । जेठमा मात्रै यो बैंकले दुई अर्ब २३ करोड रुपियाँ कर्जा विस्तार गरेको छ । 

तेस्रो स्थानमा रहेको नेपाल बैंकले १८ अर्ब ७५ करोड रुपियाँले कर्जा प्रवाह बढाएको छ । २०८० मसान्तसम्म उक्त बैंकले एक खर्ब ८६ अर्ब ३७ करोड रुपियाँ कर्जा प्रवाह गरेको थियो । जेठ महिनासम्म आउँदा त्यो दुई खर्ब ५ अर्ब १२ करोड रुपियाँ पुगेको छ । जेठमा मात्रै नेपाल बैंकले चार अर्ब ९८ करोड रुपियाँ कर्जा विस्तार गरेको छ । 

पछिल्लो समय आर्थिक शिथिलताका कारण बजारमा कर्जाको माग न्यून छ । बैंकहरुमा निक्षेप थुप्रीएको छ । त्यो अवस्थामा समेत यी बैंकहरुको कर्जा प्रवाह उच्च देखिएको छ । 

समीक्षा अवधिमा तीन बैंकको कर्जा बक्यौता भने घटेको छ । समिक्षा अवधीमा स्ट्यान्र्डड चार्टर्ड बैंकको कर्जा बक्यौता ६ अर्ब ९५ करोड रुपियाँले घटेको छ । २०८० असार मसान्तसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा बक्यौता ९५ अर्ब एक करोड रुपियाँ थियो । अहिले त्यो घटेर ८८ अर्ब ६ करोड रुपियाँमा सिमित भएको छ । यो बैंकले जेठमा भने एक अर्ब ५७ करोड रुपियाँले कर्जा विस्तार गरेको छ । 

यसैगरी प्रभु बैंकको कर्जा प्रवाह ५ अर्ब ४० करोड रुपियाँले घटेको छ । २०८० असारसम्म प्रभु बैंकको कर्जा प्रवाह दुई खर्ब ४२ अर्ब १० करोड रुपियाँ थियो । जेठ मसान्तसम्म आउँदा त्यो दुई  खर्ब ३६ अर्ब ७० रुपियाँमा झरेको छ । जेठमा यो बैंकको कर्जा प्रवाह एक अर्ब ३१ करोड रुपियाँले घटेको छ । 

यसैगरी लक्ष्मी सनराइजनको कर्जा प्रवाह ५९ करोड रुपियाँले घटेको छ । गत असारसम्म उक्त बैंकको कर्जा प्रवाह दुई खर्ब ५८ अर्ब ५ करोड रुपियाँ थियो । अहिले त्यो घटेर दुई खर्ब ५७ अर्ब ४६ करोड रुपियाँमा सिमित देखिएको छ । जेठमा भने उक्त बैंकले ७० करोड रुपियाँ बराबरको कर्जा विस्तार गरेको छ । 

बैंकहरुले पहिला प्रवाह गरेको ऋण नियमीत तालिकाअनुसार फिर्ता भइरहेको छ । तर, नयाँ कर्जाको माग न्यून छ । व्याजदर घट्दा पनि कर्जाको माग बढ्न सकेको छैन । त्यसले गर्दा बैंकहरुको कर्जा प्रवाह घटेको बताइन्छ । 

साथै, पछिल्लो समय बैंकहरुको ऋण नतिर्ने भनेर केही समुहहरु पनि निस्किएका छन् । त्यसले गर्दा पनि स्वयम बैंकहरुले कर्जा प्रवाह नियन्त्रीत गरेको देखिन्छ । बैंकहरुको आम्दानीको मुख्य स्रोत नै ऋणको व्याज हो । तर, ऋण प्रवाहमा संकुचन आउँदा अहिले बैंकहरुको आम्दानी नै प्रभावित भएको बताइन्छ ।

undefined

Advertisement

Advertisement