कोशी प्रदेशमा निक्षेप संकलन भन्दा कर्जा प्रवाह बढी

Advertisement

काठमाडौं ।  कोशी प्रदेशमा रहेका बैंक तथा वित्तिय संस्थाको शाखामा निक्षेप संकलन भन्दा कर्जा प्रवाह बढी देखिएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको अर्ध–बार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनमा चालु आवको पहिलो ६ महिना अर्थात् गत पुस मसान्तसम्मको तथ्यांक उल्लेख छ । 

Advertisement

पुस मसान्तसम्म कोशी प्रदेशमा रहेका बैंकहरुका शाखा कार्यालयहरुले चार खर्ब ३८ अर्ब रुपियाँ निक्षेप संकलन गरेका छन् । तर, कर्जा प्रवाह भने पाँच खर्ब ३१ अर्ब रुपियाँ रहेको छ । त्योअनुसार उक्त प्रदेशमा कर्जा निक्षेप अनुपात अर्थात् सिडी रेसियो १२१.२ प्रतिशत रहेको छ । 

गत आवको पुस मसान्तमा भने त्यहाँ रहेको बैंकका शाखाहरुको सिडी रेसियो १५२।७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । त्योअनुसार अन्य प्रदेशमा संकलन भएको निक्षेपबाट बैंकहरुले कोशी प्रदेशमा ऋण प्रवाह गरेको देखिन्छ ।

बैंकहरुको कर्जा निक्षेप अनुपात अधिक्तम ९० प्रतिशत हुनुपर्ने व्यवस्था छ । तर, यो व्यवस्था प्रदेश वा शाखा कार्यालयमा भने लागू हुदैन । बैंकको कुल निक्षेप र कर्जा लगानीमा यो अनुपात लागू हुन्छ । त्यो अवस्थामा कोशी प्रदेशमा कर्जा निक्षेप अनुपात धेरै भएपनि कुनै समस्या नहुने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

समीक्षा अवधीमा कोशी प्रदेशमा निक्षेप २०.५ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो समय निक्षेपमा दिने व्याजदर, रेमिट्यान्स आप्रवाह, विद्युतीय कारोवारमा भएको वृद्धि तथा बैंकिङ सेवा विस्तार भएकाले निक्षेप परिचालन बढेको प्रतिवेदनमा उल्लेख छ । 

कोशी प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा भने ४.४ प्रतिशतले घटेर पाँच खर्ब ३१ अर्ब  रुपियाँ कायम भएको प्रतिवेदनमा उल्लेख छ । 

कोशीमा  प्रवाह भएको कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा १०.८ प्रतिशत, औद्योगिक कर्जाको हिस्सा २४.४ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६४.८ प्रतिशत छ ।

कोशीको कूल निक्षेपमा चल्ती निक्षेपको ७.३ प्रतिशत, बचत निक्षेपको अंश ४०.४ प्रतिशत, मुद्दती निक्षेपको अंश ४७.३ प्रतिशत र अन्य निक्षेपको अंश ५.० प्रतिशत हिस्सा रहेको छ । गत असार मसान्तमा कुल निक्षेपमा चल्ती निक्षेपको अंश ८.२ प्रतिशत, बचत निक्षेपको अंश ३९.६ प्रतिशत, मुद्दती निक्षेपको अंश ४६.३ प्रतिशत र अन्य निक्षेपको अंश ५.९ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा चल्ती निक्षेप र अन्य निक्षेप रकम क्रमशः ७.४ प्रतिशत र ११.२ प्रतिशतले घटेको छ । बचत र मुद्दती निक्षेपको रकम भने क्रमशः ६.३ प्रतिशत र ६.२ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । 

मुद्दति निक्षेपको व्याजदर गत बर्षको व्याजदर भन्दा कम रहेका कारण बचत निक्षेप वृद्धि भएको राष्ट्र बैंकले बताएको छ । विप्रेषणमा आएको वृद्धि तथा बैंक तथा वित्तीय संस्था बाहेकका क्षेत्र प्रति मानिसहरुको घट्दो विश्वासका कारण मुद्दती निक्षेपमा वृद्धि भएको देखिन्छ ।

समीक्षा अवधिमा कोशीमा निक्षेपकर्ताको संख्या ५.५ प्रतिशतले बढेर ७२ लाख ६२ हजार पुगेको छ । ऋणीहरुको संख्या भने १३.७ प्रतिशतले घटेर दुई लाख ५४ हजार पुगेको प्रतिवेदनमा उल्लेख छ । बजारमा देखिएको शिथिलताका कारण कर्जाको मागमा कमी आउँदा यस्तो अवस्था आएको प्रतिवेदनमा उल्लेख छ । साथै, बढ्दो निष्किृय कर्जाले पूँजी पर्याप्ततामा देखिएको दबाबको कारणले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न नसकेका कारण ऋणीहरुको संख्यामा कमी आएको राष्ट्र बैंकको भनाइ छ । 

२०८० पुस मसान्तसम्म तोकिएको क्षेत्रमा प्रवाह भएको कुल कर्जा एक खर्ब ५७ अर्ब आठ करोड ४९ लाख रहेको छ । तोकिएको क्षेत्रमा प्रवाह भएको कर्जा मध्ये कृषि क्षेत्रमा ८८ अर्ब ३५ करोड ८६ लाख, उर्जा क्षेत्रमा ५ करोड २५ लाख, साना तथा मझौला उद्योग क्षेत्रमा ६० अर्ब ८६ करोड ९६ लाख र पर्यटन क्षेत्र तर्फ ७ अर्ब ८० करोड ४३ लाख रहेको प्रतिवेदनमा उल्लेख छ । 

समीक्षा अवधीसम्म कोशी प्रदेशमा कुल एटिएम संख्या ६६४ पुगेको छ । यसमध्ये मोरङ जिल्लामा सबैभन्दा बढी १९४ वटा एटिएम रहेका छन् । ओखलढुङ्गा, तेह्रथुम र खोटाङ जिल्लामा सबैभन्दा कम १०१० वटा एटिएम रहेका छन् ।
 

Advertisement

Advertisement