हवाई टिकटको भ्याट फिर्ता नभए अप्रिय निर्णय गर्छौंः नाट्टा, बुकिङ रद्द गर्दै पर्यटकहरू

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई सेवामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)को विरोध भइरहँदा पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत यो करलाई निरन्तरता दिइको छ । 

हवाई भाडामा लगाइएको भ्याटका कारण विशेषगरी नेपाल आउने विदेशी पर्यटकहरुलाई हवाई टिकट निकै महँगो भएको छ । यसरी गन्तव्य महँगो भएपछि आगामी आवमा १६ लाख पर्यटक भित्राउने सरकारको योजना सफल हुने कुरामा पर्यटन व्यवसायी आशावादी देखिन्नन् । 

Advertisement

भ्याटले गर्दा धेरै टुर एण्ड ट्राभल एजेन्ट्सहरुमा हवाइ टिकट रद्द गर्ने क्रम बढ्न थालेको । हवाई भाडामा भ्याट लगाउनै नमिल्नेमा सरकारले लगाएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया बताउँछन् । 

उनले सरकारले व्यवसायीहरुसँग छलफल नै नगरि नेपालको हवाइ सेवामा भ्याट लगाउने काम गरेको भन्दै टुर एण्ड ट्राभल एजेन्ट्सहरु यसै व्यवसायमा बस्ने कि छोड्ने मनस्थितिमा पुगेको बताए । थपलियाले हवाई टिकट महंगो हुँदा विदेशी पर्यटकहरुले टिकट बुकिङ रद्द गर्ने क्रम बढेकाले पर्यटक आगमन अहिलेको भन्दा पनि घटनसक्ने अवस्था सिर्जना भएको बताए । 

विश्वमा कतै पनि नभएको अभ्यास नेपालमा गरिएको उनको भनाई छ । उनले भने, ‘तेह्र प्रतिशत कर हवाइ सेवामा थप्नु भनेको निकै ठूलो रकम हो । हाम्रो देशलाई गन्तव्य बनाएर आउने पर्यटकहरु अन्य देशहरुमा डाइभर्ट भइरहेका छन् । अमेरिकाबाट नेपाल आउनुभन्दा नयाँ दिल्ली जानलाई एक हजार डलर सस्तो पर्छ । त्यो एक हजार डलरले इण्डिया घुम्नलाई खर्च गर्न पुग्छ । त्यस्तै भियतनाममा पर्यटकहरु जाने क्रम बढ्दो छ ।’

थपलियाले थपे, ‘जस्तो हामी एरेस्टुरेन्टमा बसेर खाना खान्छौं । त्यसको भ्याट लाग्छ । जहाजभित्र पनि खाना खान्छौं । तर त्यसको भ्याट लाग्दैन् । त्यो अन्तर्राष्ट्रिय नियम नै हो । कर लगाउन नमिल्ने कुरामा सरकारले जबरजस्ती लगाएर कूटनीतिक सम्बन्ध नै बिगार्ने प्रयास गरेको छ । हाम्रो पर्यटन क्षेत्र धरासायी बनाउने प्रयास भएको छ ।  

हवाई टिकटमा नेपालले भ्याट लगाएका कारण हालै चिनियाँ दूतवासले पत्र पठाएर आफ्ना उडानहरु फिर्ता गर्ने चेतावनी समेत दिएको उदाहरण दिँदै उनले यो निर्णय फिर्ता नलिएसम्म नेपालमा पर्यटनको माहौल बन्न नसक्ने बताए । थपलियाले सरकारलाई राजश्व बढाउन पर्यो भन्दैमा पर्यटक आगमनमा नै अवरोध गर्ने र खर्बौं लगानीमा खुलेका होटल तथा अन्य पर्यटन व्यवसायलाई धरासायी बनाउने छुट सरकारलाई नरहेको बताए । 

अध्यक्ष थपलियाले अहिले ३५ लाख विदेशी पर्यटन राख्नसक्ने र सेवा दिन सक्ने क्षमता नेपालको आथित्यता क्षेत्रमा विकास भए भ्याट लगाउने सरकारको निर्णयले पर्यटक बढ्ने नभई घटना परिस्थिति निर्माण भएको बताए । उनले भने, ‘हामी यस निर्णयविरुद्ध मुद्दा पनि लडिरहेका छौं । भ्याट लगाउनै नमिल्ने भएकाले यो मुद्दा लगाएको हो । यस्तै घटना बंगलादेशमा पनि भएको थियो । नमिल्ने भएकाले पनि उनीहरुले यस्तो कर लगाउने निर्णय उनीहरुले पनि फिर्ता लियो । नेपालमा पनि फिर्ता गर्नुको विकल्प छैन् ।’  

हवाई टिकटमा भ्याट नहटे ट्राभल एण्ड टुर व्यवसायीहरु समेत विस्थापित हुने अवस्था आउने भन्दै थपलियाले सरकारको निर्णयविरुद्ध आफूहरुले पनि संघर्ष गरिरहेको बताए । आफूहरुले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा सुनुवाई नभएको उनले बताए । थपलियाले कर धेरै संकलन गर्ने नाममा निर्मम बनेको र जथाभावी गरेको बताए । 

उनले भने, ‘नेपालमा बसेर काम गर्न नसकिने अवस्था सिर्जना भएको छ अहिले । हामी यो व्यवसायबाट पलायन हुने अवस्था आयो भने बाहिरको एजेन्सी आएर नेपालको व्यवसाय लिन्छ । त्यो भनेको नेपालीको रोजीरोटी गुम्ने हो । हामीले रोजगारी सिर्जना गरेको सबै गुम्छ । त्यही कारण अहिले टाभ्रल एजेन्सीहरु ‘पर्ख र हेरे’को अवस्थामा छन् । बजेट लागू हुने बेलासम्म पनि माग सम्बोधन भएन भने अप्रिय निर्णय गर्नपर्ने हुन्छ ताकी नेपालमा बसेर काम गर्ने कि नगर्ने ?’ 

वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई पनि सरकारको निर्णयको कारण हवाइ टिकट महँगो परिरहेको थपलियाले बताए । सरकारले आफ्नो गलत निर्णय नसच्याए केही ट्राभल व्यवसाय नेपालबाट भए पनि अधिकांश भारतबाट हुन्छ भन्दै उनले भने, ‘मानौ काठमाडौंबाट क्यानाडा जाने टिकट दुई लाख छ भने हामीले त्यसमा २६ हजार भ्याट तिनुपर्छ, यदि नेपालबाट टिकट इसु गर्यो भने । टिकट काट्नेले नेपालको एजेन्टबाट काठमाडौं–दिल्लीको मात्र टिकट काट्यो र बाँकी दूरीको अनलाइनबाटै काट्यो भने नेपालको व्यवसाय त बाहिर जाने भयो । न सरकारले अपेक्षा गरेअनुसार कर उठ्छ, न पर्यटक बढ्छ । उल्टै नेपाली दाजुभाईको रोजगारी मात्रै गुप्छ ।’ 

आफूहरुले यो तथ्य सरकारलाई पटक पटकको भेटमा भने पनि उनीहरुको मनन गर्न नसकेको थपलियाको गुनासो छ । उनले नेपालका होटलहरु खाली बनाउने र पर्यटन क्षेत्रलाई धरासायी बनाउने निर्णय फिर्ता गर्नुपर्ने बताए । 

पर्यटन मन्त्रालयका सहसचिव इन्दु घिमिरेले हवाई सेवामा लागेको भ्याटमा पुनर्विचार गर्न आफूहरुले अर्थ मन्त्रालयसँग समन्वय गरिरहेको बताइन । सरकारले भ्याट लगाइसकेपछि हटाउन कठिनाई हुने उनको तर्क छ । घिमिरेले भ्याट लगाएपछि हवाइ टिकट कति बिक्री हुँदोरहेछ ? पहिला नलगाउँदा कति बिक्री थियो ? त्यो अनुपात निकाल्न पर्यटनसम्वन्धी संघसंस्थालाई आफूहरुले भनेको बताउँदै त्यो अनुपात आएपछि सरकारलाई पनि निर्णय गर्न सहज हुने बताइन् । 

उनले भनिन्, ‘त्यो अनुपात निकालेर आएपछि हामी यो तथ्यको आधारमा अर्थ मन्त्रालय, प्रधानमन्त्रीसँग कुरा गर्नेछौं । तथ्यको आधारमा सरकारसँग कुरा गर्दा सजिलो हुन्छ । भ्याट लगाउँदा असर पर्छ कि पर्दैन् । पर्दा कति असर पर्छ ? भन्ने कुरा भयो भने निर्णय गर्न सहज हुन्छ । तथ्य बिना सरकारले हवाइ सेवामा भ्याट लगायो भनेर मात्र पनि भएन ।’

Advertisement

Advertisement