कर्जा प्रवाहमा पनि गिरावट

कूल निक्षेपमा कर्णाली प्रदेशको योगदान १.०७ प्रतिशतमात्रै

Advertisement

काठमाडौं । बैंकिङ क्षेत्रको कूल निक्षेपमा अन्य प्रदेशको तुलनामा बिकट बनाइएको कर्णाली प्रदेशको हिस्सा पनि एकदमै न्यून देखिएको छ । 

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको कर्णाली प्रदेशको अर्ध–बार्षिक आर्थिक गतिविधि सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।  

Advertisement

प्रतिवेदनमा चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो ६ महिना अर्थात् साउनदेखि पुससम्मको तथ्यांक समावेश छ । त्यो अवधीमा कर्णाली प्रदेशमा रहेका बैंक तथा वित्तिय संस्थाको शाखामा कुल ६५ अर्ब ९८ करोड ४७ लाख रुपियाँ निक्षेप जम्मा भएको छ, यो बैंकिङ क्षेत्रमा भएको कूल निक्षेपको १.०७ प्रतिशत मात्रै हो । 

सोही अवधीमा नेपालको समग्र बैंकिङ प्रणालीमा ६१ खर्ब ३१ अर्ब रुपियाँ निक्षेप थियो । त्योअनुसार कुल निक्षेपमा कर्णाली प्रदेशको हिस्सा एकदमै न्यून देखिएको छ । 

यसले कर्णालीमा आर्थिक गतिविधि कम हुने गरेको, धेरै नागरिकहरु गरिबीमा रहेको लगायतका सामाजिक आर्थिक अवस्थाको चित्रण गर्ने विज्ञहरु बताउँछन् । साथै, त्यहाँको वित्तीय पहुँच विस्तार नहुदाँ पनि यस्तो अवस्था आएको हुन सक्ने उनीहरु बताउँछन् ।

यद्यपि, समीक्षा अवधीमा कर्णाली प्रदेशमा निक्षेप ५.४२ प्रतिशतले बढेको छ । गत आवको सोही अवधीमा त्यहाँ भएका बैंक तथा वित्तिय संस्थामा ६२ अर्ब ५८ करोड २४ लाख रुपियाँ निक्षेप थियो । 

समीक्षा अवधिमा कर्णाली प्रदेशमा बढेको रेमिट्यान्स आप्रवाह, बैकिङ सेवामा आएको विस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीमा आएको विकासले कूल निक्षेपमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिमा कर्णाली प्रदेशमा प्रवाह भएको कर्जा भने २०.५० प्रतिशतले घटेर ४७ अर्ब ३० करोड ५७ लाख रुपियाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा ६.७२ प्रतिशतले बढेर ५९ अर्ब ५० करोड १३ लाख रुपियाँ पुगेको थियो । अहिले त्यो घटेको प्रतिवेदनमा उल्लेख छ । 

उक्त प्रदेशको कर्जा तथा निक्षेप अनुपात भने ७१.६९ प्रतिशत कायम भएको छ । गत आवको समिक्षा अवधिमा यस्तो अनुपात ९५.०६ प्रतिशत रहेको थियो । पछिल्लो समय देखिएको आर्थिक शिथिलताले देशभर नै कर्जाको माग बढ्न सकेको छैन । त्यसको असर कर्णाली प्रदेशमा पनि परेको विज्ञहरु बताउँछन् । 

समीक्षा अवधिमा कर्णाली प्रदेशमा भएको कुल निक्षेपमा बचत निक्षेपको अंश सबैभन्दा धेरै अर्थात् ५१।१६ प्रतिशत देखिएको छ । त्यसैगरी मुद्दती निक्षेपको २९।९६ प्रतिशत, चल्ती निक्षेपको १४।३३ प्रतिशत र अन्य निक्षेपको ४.५५ प्रतिशत हिस्सा रहेको प्रतिवेदनमा उल्लेख छ । 

कति छ बैंक खाता ? 
समीक्षा अवधीमा कर्णाली प्रदेशमा बचत खाताको संख्या २० लाख ९३ हजार ८७३ पुगेको छ । ऋणी खाताहरुको संख्या भने ३७ हजार ३९४ पुगेको हो । 

पुस मसान्तसम्म कर्णालीमा डिजटल भुक्तानी ग्राहकको संख्या भने  ८ लाख ८३ हजार ८३७ पुगेको छ । त्यसमा क्रेडिट कार्ड, डेबिड कार्ड, मोबाईल बैकिङ, अनलाईन बैकिङ, पिओएस, प्रिपेड कार्ड र क्युआर मर्चेन्टको क्रमशः ३ हजार २६५, २ लाख ५८ हजार ४३, ५ लाख ९८ हजार ४३, ५ लाख ९२ हजार ४३६, १४ हजार ४७८, २४०, ३३० र १५ हजार ०४५ ग्राहक रहेका छन् । 

प्रतिवेदनअनुुसार कर्णाली प्रदेशमा ३० वटा शाखारहित बैकिङ्ग सेवा रहेका छन् । यस्तो सेवा प्रवाहमा सुर्खेत जिल्ला सबैभन्दा अगाडि रहेको छ । त्यहाँ १२ वटा शाखारहित बैकिङ्ग सेवा रहेको प्रतिवेदनमा उल्लेख छ । 

यसैगरी दैलेखमा ३ वटा, सल्यानमा ५ वटा र कालिकोटमा ४ वटा शाखारहित बैंकिङ सेवा रहेको देखिन्छ । त्यस्तै, हुम्ला र मुगुमा २–२ वटा तथा रुकुम पश्चिम र जाजरकोटमा १–१ वटा शाखारहित बैङ्किङ सेवा रहेको देखिन्छ । डोल्पा र जुम्लामा भने यस्तो सेवा रहेको प्रतिवेदनमा उल्लेख छ । 

समीक्षा अवधिमा कर्णाली प्रदेशमा १०२ वटा एटीएम सञ्चालनमा रहेका छन् । त्यहाँ मोवाइल बैंकिङ रजिस्टर गर्ने ग्राहकको संख्या भने ७ लाख ३१ हजार ७२३ पुगेको छ । जसमध्ये सबैभन्दा बढी सुर्खेतमा २ लाख ९२ हजार ३५५ र सबैभन्दा कम डोल्पा जिल्लामा १७,०५८ रहेको छ । त्यसैगरी, इन्टरनेट बैंकिङ रजिस्टर गर्ने ग्राहकको संख्या १६ हजार ८३३ रहेको छ । त्यसमा सबैभन्दा बढी सुर्खेत जिल्लामा ११ हजार ३१८ र सबैभन्दा कम मुगुमा १२० रजिस्टर भएका छन् । 
 

Advertisement

Advertisement