प्राधिकरण भन्छ, ‘शाहलाई अदालती प्रक्रियामा जाने आधार छ’

स्पष्टीकरण नै नसोधी अचानक हिमालयन एभरेष्टका सीईओ बर्खास्त, खास कारण गोप्य

Advertisement

काठमाडौं । नेपालको पहिलो मर्जर बीमा कम्पनी अर्थात् हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट बिजयबहादुर शाहलाई बर्खास्त गरिएको छ । 

बुधबार साँझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनीसँग भएको करार सम्झौता भंग गर्ने निर्णय गरेको हो । कम्पनी सचिव ध्रुबप्रसाद न्यौपानेले बोर्ड बैठकबाट सीईओ शाहसँगको करार सम्झौता भंग गर्ने निर्णय गरिएको जानकारी दिए । 

Advertisement

सीईओलाई किन बर्खास्त गरियो ? भन्ने प्रश्नमा उनले भने, ‘उहाँलाई बर्खास्त गरिएको होइन । आन्तरिक सहमतिमा करार सम्झौता भंग गरिएको हो ।’ तर, सीईओलाई बर्खास्त नै गर्ने नियतले यस्तो निर्णय बोर्डबाट गराइएको शाह निकटहरु बताउँछन् ।

‘माइन्यूटमा के शब्द लेखिएको छ, त्यो औपचारिक बिषय हो । सीईओ शाहमाथि नियतबस नै यस्तो कदम उठाइएको हो,’ शाह निकट एक व्यक्तिले बताए । सामान्य कारण देखाएर सीईओ शाहलाई अचानक हटाउनु अर्थपूर्ण देखिन्छ । यसको खास कारण भने सञ्चालक समितिले गोप्य राखेको छ । 

नेपालका बीमा कम्पनीहरुमा भएका सीईओहरुमा बिजयबहादुर शाह अब्बल नै मानिन्छन् । शाह २०७८ फागुनमा तत्कालिन हिमालयन जनरल इन्स्योरेन्सको सीईओ नियुक्त भएका थिए । त्यसपछि हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्ज भई २०७९ साउन १ गतेदेखि एकीकृत कारोबार गरेका थिए ।

सोही दिन अर्थात् २०७९ साउन १ गतेदेखि लागू हुने गरि उनी चार बर्षका लागि मर्जर कम्पनीको सीईओ भएका थिए । तर, दुई बर्षभन्दा बढी कार्यकाल बाँकी हुँदै कम्पनीले शाहलाई पदबाट हटाएको हो । 

सम्भवतः नेपाली बीमा क्षेत्रमा नेपाली बीमा  कम्पनीको सञ्चालक समितिले सीईओलाई कार्यकाल नसकिदै पदबाट हटाएको यो पहिलो घटना हो । धेरै बर्षअघि भारतीय बीमा कम्पनी नेशनल इन्स्योरेन्सले आफ्नो सीईओलाई फिर्ता पठाएको थियो । नेपाली बीमा कम्पनीमा भने यस्तो इतिहास भएको पाइदैन । 

कानुनी प्रक्रिया पूरा नगरी बर्खास्त
कम्पनीले शाहलाई सीईओ पदबाट हटाउन कानुनी प्रक्रिया नै पूरा नगरेको देखिएको छ । बीमा ऐन २०७९ को दफा ५७ अनुसार बीमा कम्पनीले योग्यता पुगेको व्यक्तिलाई आवश्यक प्रक्रिया पुरा गरेर चार बर्षका लागि सीईओ नियुक्ति गर्न सक्नेछ । साथै, सीईओलाई थप एक पटकका लागि पुनः नियुक्ति पनि गर्न सकिनेछ ।

तर, सञ्चालक समितिले सीईओ कार्य सम्पादन सन्तोषजनक नभएमा कुनै पनि बेला पदबाट हटाउन सक्नेछ । तर, त्यसरी पदबाट हटाउनुअघि सीईओलाई स्पष्टीकरण भने सोध्नुपर्छ ।

‘......सञ्चालक समितिले कार्यकारी प्रमुखको कार्यसम्पादन सन्तोषजनक नभएमा निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ । तर त्यसरी पदबाट हटाउनुअघि निजलाई सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ,’ बीमा ऐन २०७९ को दफा ५७ को उपदफा ३ मा उल्लेख छ । तर, सञ्चालक समितिले सीईओ शाहलाई पदबाट हटाउँदा सफाई पेश गर्ने मौका नदिएको स्रोतको भनाइ छ । 

सीईओ शाहलाई हटाएपछि बिहीबार कम्पनीका कर्मचारीहरुले सञ्चालक तथा उच्च पदस्थ अधिकारीहरुसँग कारण सोधेका थिए । त्यसमा उच्च अधिकारीले बीमा कारोबार सम्बन्धमा बीमा प्राधिकरणबाट पटक पटक पत्र आउन थालेपछि सीईओ शाहलाई पदबाट हटाउने निर्णय गरेको जानकारी दिएका थिए । 

एउटै प्रकृतिकै बीमा फरक फरक बीमाशुल्कको दर लगाउने गरेको, बीमा अवधि थप गर्दा बीमाशुल्क नलिने गरेको लगायतका बिषयमा प्राधिकरणले कम्पनीमा पत्र पठाएको जानकारी उनीहरुले दिएका थिए । त्यस्तो प्रवृत्तिलाई सुधार गर्न भन्दै प्राधिकरणले पत्र पठाएको बताइएको छ । 

सोही कारण देखाएर कम्पनीले सीईओलाई पदबाट हटाएको जानकारी कर्मचारीहरुलाई दिइएको छ । 
‘यो त कारोबारको बिषयमा प्राधिरकणले पठाएको नियमित पत्र हो । अन्य कम्पनीहरुमा पनि यस्तो पत्र जाने गर्छ । त्यसमाथि उक्त पत्रहरु सीईओ शाह माथि नै लक्षित थिएन । तसर्थ, प्राधिकरणको त्यस्तो पत्रकै आधारमा सीईओलाई पदबाट हटाउने आधार देखिन्न । यसमा कुनै स्वार्थ समूहको खेल हुनसक्छ’ एक अधिकारीले बताए । 

प्राधिकरण भन्छ, ‘शाह न्यायिक प्रक्रियामा जान सक्छन्’
यता नियामक निकाय बीमा प्राधिकरणका उच्च अधिकारीहरु भने बिजयबहादुर शाह न्यायिक उपचारका लागि अदालत जानसक्ने बताउँछन् । यसका लागि उनीसँग पर्याप्त आधार पनि भएको प्राधिकरणका कानुन शाखाका एक उच्च अधिकारीले बताए । 

ती उच्च अधिकारीले भने, ‘हामीलाई यसको आधिकारिक जानकारी आइसकेको छैन । अनौपचारिक रुपमा थाहा मात्रै पाएको हो । शाहलाई स्पष्टीकरण नसोधी पदबाट हटाएको देखिन्छ । त्यो अवस्थामा उनले सर्वोच्च अदालतमा रिट हाल्न सक्ने आधार छ ।’

शाहनिकट स्रोतले पनि अदालती प्रक्रियामा जान सक्ने आधार भएको स्वीकार गरे । तर, यस बिषयमा तत्काल कुनै निर्णय भइनसकेको उनको भनाइ छ । स्रोतले भन्यो, ‘चार बर्षका लागि करार सम्झौता गरिएको हो । प्राधिकरणबाट पूर्वस्वीकृत लिएर नै कम्पनीले सीईओ नियुक्ति गरेको हो । तर, अहिले स्पष्टीकरण नसोधी पदबाट हटाइएको छ । यसमा कानुनी प्रक्रियामा अगाडि बढ्नसक्ने आधार छ । तर, के गर्ने भनेर निर्णय भइसकेको छैन ।’

अध्यक्षको घरमै भएको थियो ‘बोर्ड बैठक’
काठमाडौं महानगरपालिका वडामा नम्बर १० स्थित थापागाउँमा रहेको यस बीमा कम्पनीको प्रधान कार्यालयमै सामान्यत सञ्चालक समितिको बैठक हुने गर्दथ्यो । तर, बुधबारको बोर्ड बैठक भने कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठको घरमा भयो । सोही बैठकले शाहलाई सीईओ पदबाट हटाउने निर्णय गरेको हो । बैठकले कामु सीईओको जिम्मेवारी अञ्जु श्रेष्ठलाई दिने निर्णय पनि गर्यो । 

श्रेष्ठ कम्पनीको नायव सीईओ हुन् । उनले आज (बिहीबार) देखि लागू हुने गरि कामु सीईओको भूमिका खेल्नुपर्नेछ । नयाँ सीईओ नियुक्तिको प्रक्रिया पनि छिट्टै सुरु गर्ने बोर्ड बैठकले निर्णय गरेको छ । 

अपरान्ह ४ः३० सम्म कार्यालयमै थिए शाह 
अमेरिकाको भ्रमण सम्पन्न गरेर मंगलबार दिउँसो २ बजे मात्रै नेपाल फर्किएका सीईओ बर्खास्त गर्ने निर्णय भएको दिन बुधबार अपरान्ह ४ः३० बजेसम्म कार्यालयमै थिए । बिहान साढे ९ बजे नै कार्यालय पुगेर शाहले अन्डरराइटिङ, बिजनेश टार्गेट लगायतका बिषयमा कर्मचारीहरुसँग छलफल गरेका थिए । साथै, अन्य नियमित काम पनि गरेर ४ः३० बजे निस्किएका थिए । 

कार्यालय समयपछि बसेको बोर्ड बैठकले पदबाट हटाएपछि भने उनी कार्यालय आउने बाटो बन्द भएको छ । शाह आज (बिहीबार) भने कार्यालय आएका छैनन् । यद्यपि, उनी कार्यालय आएर कम्पनीले दिएको ल्यापटप लगायतका सामग्रीहरु फिर्ता गर्ने योजनामा छन् । कार्यालयमा भएको आफ्नो व्यक्तिगत कागजपत्र, डेटाहरु फिर्ता लैजाने शाहको योजना छ । 

बीमा क्षेत्र तरंग 
हिमालयन एभरेष्टको सञ्चालक समितिले सीईओलाई पदबाट बर्खास्त गरेको घटना बाहिरिएसँगै बीमा क्षेत्रमा तरंग देखिएको छ । कम्पनीको बोर्डले अचानक सीईओलाई बर्खास्त गरेपछि अन्य बीमा कम्पनीका सीईओहरु पनि तर्सिएका छन् । उनीहरुले आफूहरुलाई पनि अशुरक्षित महशुस भएको बताएका छन् । 

Advertisement

Advertisement