आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने यात्रुको परिवारलाई अब एक करोड ३४ लाख क्षतिपूर्ति

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने यात्रुको परिवारलाई बीमाबापत एक लाख डलर दिने व्यवस्था गर्न लागेको छ । 

हाल आन्तरिक हवाई दुर्घटनाम ज्यान गुमाउने यात्रुको नाममा सम्बन्धित हकवाला व्यक्ति तथा परिवारले बीमाबापत २० हजार डलर क्षतिपूर्ति दिने व्यवस्था रहेकोमा त्यसलाई बढाउन लागिएको हो । 

Advertisement

त्यसलाई अब एक लाख डलर पुर्याउने गरि ऐन संशोधन गर्न लागिएको मन्त्रालय स्रोतले बतायो । नेपाली रुपियाँमा त्यो रकम एक करोड ३४ लाख रुपियाँ हुन्छ । हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विद्येयक, २०८१ को मस्यौदा बनाइरहेको मन्त्रालयले हवाई दुर्घटनामा परेकाहरुको बीमा दावी रहका बनाउने कुरा पनि समावेश गरेको छ । 

यसका लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति पनि दिइसकेको स्रोतले जानकारी दियो । उनले भने, ‘अब हामीले ऐनको मस्यौदा अर्थ मन्त्रालय र कानुन मन्त्रालयको स्वीकृतका लागि पठाउँछौं । त्यसपछि मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संसद्मा पेश गरिनेछ । संसदबाट जतिसक्छो छिटो संसदबाट पारित भएर आइदियोस् भन्ने हाम्रो अपेक्षा हो ।’ 

हाल आन्तरिक उडानका जहाज दुर्घटना भएर ज्यान गुमाउनेको परिवारलाई क्षतिपूर्ति कम भएको भन्दै पीडितहरुबाट निकै गुनासो आएको छ । विधेयक पास भएपछि त्यसको कडाईका साथ कार्यान्वयन गर्ने पर्यटन मन्त्रालयले बताएको छ । मन्त्रालय स्रोतको भनाई छ, ‘अन्तर्राष्ट्रिय उडान दुर्घटना हुँदा ज्यान गुमाउनेको परिवारलाई एक लाख ६० हजार डलर पाउँछन् । तर आन्तरिक उडानमा जम्मा २० हजार डलर । यो त निकै कम भयो । सम्माजनक क्षतिपूर्तिको व्यवस्था गर्नुपर्यो भन्ने सरोकारवालाको पनि पहिलोदेखि माग थियो । सोहीअनुसार कानुनी व्यवस्था गर्न लागेको हो । मोन्ट्रियल कन्भेन्सन १९९९ (एमसी ९९) अन्तर्गत पाइने हकअनुसार पनि यस्तो व्यवस्था गर्न लागिएको हो । नेपालको अन्तर्राष्ट्रिय उडानमा एमसी ९९ लागू भइसकेको छ । 

मन्त्रालयले यस विषयमा सरकोरावालासँग पनि छलफल गर्ने बताएको छ । त्यसपछि मात्रै मस्यौदा अर्थ र कानुन मन्त्रालय पठाइने जनाइएको छ । एयरलाइन्स कम्पनीले कुनै पनि दुर्घटनामा यात्रुहरूको मृत्य वा घाइते हुँदा क्षतिपूर्ति दिनुपर्छ । त्यस्तो जोखिमको बीमा गरिन्छ । हवाई दुर्घटना भएमा सम्बन्धित बीमा कम्पनीले नै दायित्व बहन गर्छ । कुनै पनि वायुसेवा कम्पनीको ​लापरवाहीले गर्दा यात्रुहरुको उडान ढिलाइ भएमा, उडान रद्द भएमा वा सामान र कार्गोको क्षति भयो भने उनीहरुलाई क्षतिपूर्ति दिनुपर्छ । 

Advertisement