गत आवमा दुई खर्बको बीमा कारोबार, जीवन र निर्जीवन कम्पनी कुनले कति व्यापार गरे ?

Advertisement

काठमाडौं । ठूला जीवन र निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्ष २०८०–८१ मा झण्डै दुई खर्ब रुपियाँ बराबरको बीमा कारोबार गरेका छन् । नेपाल बीमा प्राधिकरणले आर्थिक बर्षान्तमा कम्पनीहरुमा गरेको स्थलगत निरीक्षणले यस्तो देखाएको हो । 

हाल नेपालमा १४–१४ वटा ठुला निर्जीवन र जीवन बीमा कम्पनी छन् । गत आवमा उनीहरुले एक खर्ब ९७ अर्ब ४८ करोड रुपियाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको स्थलगत निरीक्षणले देखाएको छ । यद्यपि, गत आवमा कम्पनीहरुले गरेको कारोबारको अन्तिम प्रतिवेदन आउन भने बाँकी नै छ । 

Advertisement

त्यसमा जीवन बीमा कम्पनीहरुले मात्रै एक खर्ब ५६ अर्ब ३१ करोड ७९ लाख रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । त्यसमा प्रथम बीमाशुल्क २७ अर्ब २० करोड ६७ लाख रुपियाँ रहेको छ । यसैगरि एकल बीमाशुल्क बापत सात अर्ब ६ करोड ४३ लाख रुपियाँ उठेको छ । नविकरण बापत एक खर्ब २२ अर्ब चार करोड बीमाशुल्क उठेको तथ्यांकमा उल्लेख छ । 

जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफले सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । गत आवमा उक्त कम्पनीले ४० अर्ब ८५ करोड रुपियाँ बीमाशुल्क संकलन गरेको छ । दोस्रो नम्बरमा भने नेशलन लाइफ रहेको छ, उक्त कम्पनीले १९ अर्ब २० करोड रुपियाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको एलआईसी नेपालले १९ अर्ब ९ करोड रुपियाँ बीमाशुल्क संकलन गरेको छ । 

यसैगरि हिमालयन लाइफले १६ अर्ब ६० करोड रुपियाँ, सुर्यज्योति लाइफले नौ अर्ब ४९ करोड रुपियाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले आठ अर्ब ७१ करोड रुपियाँ, एसियन लाइफले आठ अर्ब पाँच करोड रुपियाँ, सिटीजन्स लाइफले ६ अर्ब २१ करोड रुपियाँ, सानिमा रिलायन्स लाइफले ६ अर्ब १८ करोड रुपियाँ, मेट लाइफले पाँच अर्ब ६७ करोड रुपियाँ, आईएमई लाइफले चार अर्ब ७४ करोड रुपियाँ, प्रभु महालक्ष्मी लाइफले चार अर्ब ३७ करोड रुपियाँ, रिलायवल नेपाल लाइफले चार अर्ब २० करोड रुपियाँ र सन नेपाल लाइफले तीन अर्ब ८८ करोड रुपियाँ बीमाशुल्क संकलन गरेको छ । 

निर्जीवन बीमा कम्पनीहरुले भने समीक्षा बर्षमा ४१ अर्ब १६ करोड ७२ लाख रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । त्यसमा सबै भन्दा धेरै बीमाशुल्क शिखर इन्स्योरेन्सले उठाएको छ । समिक्षा बर्षमा उक्त कम्पनीले पाँच अर्ब ४७ करोड तीन लाख रुपियाँ बीमशुल्क संकलन गरेको छ । 

यसैगरि, दोस्रो नम्बरमा रहेको सगरमाथा लुम्बिनीले चार अर्ब ७८ करोड रुपियाँ बीमाशुल्क संकलन गरेको छ । यसैगरि तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियरले चार अर्ब १७ करोड रुपियाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ । 

यसैगरि हिमालयन एभरेष्टले तीन अर्ब ७२ करोड रुपियाँ, आईजीआई प्रुडेन्सीयलले तीन अर्ब ६५ करोड रुपियाँ, नेकोले तीन अर्ब १४ करोड रुपियाँ, युनाइटेड अजोडले दुई अर्ब ७२ करोड रुपियाँ र सानिमा जिआईसीले दुई अर्ब ६१ करोड रुपियाँ बीमाशुल्क संकलन गरेको छ । 

यसैगरि एनएलजी इन्स्योरेन्सले दुई अर्ब ५५ करोड रुपियाँ, दि ओरियन्टलले दुई अर्ब १६ करोड रुपियाँ, प्रभुले एक अर्ब ७७ करोड रुपियाँ, नेपाल इन्स्योरेन्सले एक अर्ब ५९ करोड रुपियाँ, राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ५८ करोड रुपियाँ र नेशनल इन्स्योरेन्सले एक अर्ब १९ करोड रुपियाँ बीमाशुल्क संकलन गरेका छन् ।

Advertisement