जीवन बीमामा अन्यायपूर्ण कर नीतिः बीमितलाई दिइने बोनसमा समेत २५ प्रतिशत आयकर !

Advertisement

काठमाडौ ।  सरकारले जीवन बीमा कम्पनीहरुलाई अन्यायपूर्णढंगले कर लगाउँदै आएको देखिएको छ । जीवन बीमा कम्पनीहरुले आफ्नो नाफामा २५ प्रतिशत आयकर र लाभांशमा पाँच प्रतिशत लाभकर तिर्नुपर्छ । तर, त्यो बाहेक बीमितलाई भुक्तानी गर्ने बोनस रकममा समेत २५ प्रतिशत आयकर तिर्न कम्पनीहरु बाध्य भएका छन् ।

बीमितलाई दिने बोनस बीमा कम्पनीहरुको ‘खर्च’ हो । तर, सरकारले त्यो खर्च होइन भन्दै त्यसमा समेत २५ प्रतिशत आयकर तिराउँदै आएको कम्पनीहरु बताउँछन् । फलस्वरुप बीमा कम्पनीहरु अप्रत्यक्ष रुपमा करको मारमा पर्दै आएका छन् । बिशेषगरि ठूलो रकममा बोनस भुक्तानी गर्ने जीवन बीमा कम्पनीहरु यसबाट बढी पीडित भइरहेका छन् । 

Advertisement

यसै पनि नेपालमा जीवन बीमा कम्पनीहरुमा लगाइएको आयकरको दर उच्च छ । दक्षिण छिमेकी मुलुक भारतमा जीवन बीमा कम्पनीहरुलाई १२.५ प्रतिशत मात्रै आयकर तोकिएको छ । त्यहाँ अन्य कर्पोरेटलाई भने २५ प्रतिशत नै कर लाग्छ । शेयर स्वामित्व सीमित व्यत्तिmहरुको भए पनि पुँजी परिचालनका आधारमा जीवन बीमा कम्पनीहरुमा ९० प्रतिशत हिस्सा आम सर्वसाधारणकै हुने दावी छ । 

जीवन बीमा कम्पनीहरुले सर्वसाधारण बीमितकै पैसा परिचालन गरि मुनाफा कमाएर बीमित र शेयरधनीलाई बोनस तथा लाभांश दिने हो । त्यो अवस्थामा जीवन बीमा कम्पनीहरुलाई आयकर नै कम लगाउनुपर्ने सैद्धान्तिक तर्क गरिँदै आइएको छ । तर, नेपालमा जीवन बीमा कम्पनीहरुलाई पनि अन्य कर्पोरेट कम्पनीसरह नै २५ प्रतिशत कर लगाउँदै आइएको छ । 

त्यसमाथि बीमितलाई भुक्तानी गरिने रकमलाई खर्चमा गणना गर्न नपाउँदा त्यसमा समेत २५ प्रतिशत आयकर तिर्नुपरेको कम्पनीहरु बताउँछन् । पाँच, १०, १५, २० र २५ बर्ष लगायतको अवधी तोकिएर मान्छेको जीवन बीमा गरिन्छ । त्यस अवधीमा बीमितको मृत्यु भएमा बीमा कम्पनीले सम्झौताअनुसारको रकम हकवालालाई भुक्तानी गर्नुपर्छ । बीमितको मृत्यु नभएमा बीमा अवधीमा सकिएपछि बीमितले तिरेको बीमाशुल्क अर्थात् बीमांक बराबरको र आर्जित बोनस रकम एकमुष्ठ भुक्तानी गरिन्छ । त्यसमा बीमांक बराबरको रकममा बीमितले कर तिर्नुपर्दैन । बोनसबाट आएको रकममा भने पाँच प्रतिशत लाभकर तिर्नुपर्छ । 

तर, बीमा कम्पनीले त्यसरी बीमितलाई भुक्तानी गरेको बोनस रकमलाइ नेपालको कर नीतिले खर्च मान्दैन । त्यसपछि बीमा कम्पनीहरु त्यस बराबरको रकममा पनि २५ प्रतिशत नै आयकर तिर्न बाध्य छन् । 

बीमा कम्पनीहरुले आम्दानी गरेर नै सञ्चालन खर्च र बोनस खर्च व्यवस्थापन गर्न हो । त्यसबाट बाँकी हुने रकम नै बीमा कम्पनीहरुको नाफा हो । व्यवहारिक रुपमा उक्त नाफा रकममा मात्रै २५ प्रतिशत कर लाग्नुपर्ने हो । 

कम्पनीहरुले बीमितहरुबाट संकलन भएको रकम बैंकको मुद्दती निक्षेप, शेयर बजार लगायतका क्षेत्रमा लगानी गर्छन् । त्यसरी गरिएको लगानीबाट आउने प्रतिफल नै बीमा कम्पनीहरुको मुख्य आम्दानी हो । त्यही आम्दानीबाट कम्पनीले सञ्चालन र बोनस खर्च व्यवस्थापन गर्नूपर्छ । त्यसपछि बाँकी हुने रकम नै कम्पनीको नाफा हो । ‘व्यालेन्ससिट’ मा नाफा पनि सोही अनुसार नै देखिन्छ । 

तर, लेखापरीक्षण गरेर कर तिर्ने बेलामा कर कार्यालयले बीमितलाई भुक्तानी गरिएको बोनसलाई खर्च होइन भन्दै त्यसबापत पनि २५ प्रतिशत कर तिराउने गरेको छ । 

मानौ, कुनै जीवन बीमा कम्पनीले बर्षमा दुई अर्ब रुपियाँ आम्दानी गर्यो । त्यस बर्ष भने उक्त कम्पनीको सञ्चालन खर्च ८० करोड रुपियाँ र बोनस खर्च ७० करोड रुपियाँ भयो । त्यसपछि व्यालेन्ससिटमा कम्पनीको नाफा ५० करोड रुपियाँ नै हुन्छ । कम्पनीको वास्तविक नाफा रकम पनि त्यति नै हो । व्यवहारिक रुपमा सोही नाफामै कम्पनीले २५ प्रतिशत तिर्नुपर्ने हो । तर, कर तिर्ने बेलामा बोनसमा भएको खर्च ७० करोडलाई समेत नाफामा मानेर २५ प्रतिशत कर तिर्नुपर्छ । 

अर्थात्, नाफा ५० करोड रुपियाँ र बोनस खर्च ७० करोड रुपियाँ गरेर एक अर्ब २० करोड रुपियाँमा बीमा कम्पनीले कर तिर्नुपर्छ । तर, कम्पनीको नाफा भने ५० करोड रुपियाँ नै हुन्छ । कर तिरेपछि बाँकी हुने रकम नै कम्पनीको खुद नाफा हो ।

कतिपय बीमा कम्पनीका उच्च अधिकारीहरु भने यसमा फरक मत राख्दै आएका छन् । यस्तो कर प्रणाली परिमार्जन गर्न आवश्यक रहेको नेपाल लाइफ इन्स्योरेन्सका प्रवीणरमण पराजुली बताउँछन् । यस्तो कर प्रणालीले कर खर्च बढ्न गई नाफा नै प्रभावित भइरहेको कम्पनीहरु बताउँछन् । त्यसले गर्दा बीमाशुल्क महंगो हुन गई बीमामा सर्वसाधारणको आर्कषण समेत कम हुने जोखिम बढेको उनीहरुको भनाइ छ । 

साथै, बीमितलाई दिइने बोनस दर पनि कम हुन जाने उनीहरुको तर्क छ । तसर्थ, यस्तो कर प्रणाली हटाउनुपर्ने उनीहरुको सुझाव छ । साथै, आयकरको दरम समेत कम गर्नुपर्ने उनीहरुको माग छ ।

Advertisement