दुर्घटना भएको जहाजको बीमा प्रभु इन्स्योरेन्समा, रु. ३० करोडको दावी पर्ने अनुमान

Advertisement

काठमाडौं । आज (बधुबार) त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजको बीमा प्रभु इन्स्योरेन्सले गरेको खुलेको छ । 

प्रभु इन्स्योरेन्सका एक उच्च अधिकारीले उक्त जहाजको बीमा आफ्नो कम्पनीमा भएको स्वीकार गरे । सौर्यको सीआरजे २०० जहाज प्राविधिक परीक्षणका लागि पोखरा जाने क्रममा ११ः११ मा दुर्घटना भएको थियो । 

Advertisement

जहाज खसेर आगलागी भएपछि पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने जहाजका क्याप्टेनबाहेक बाँकी १८ जनाको मृत्यु भएको छ । क्याप्टेन मनिष शाक्यको भने केएमसी अस्पतालमा उपचार भइरहेको छ । जहाजमा प्रायः कम्पनीका उच्च व्यवस्थापन कर्मचारी, प्राविधिक सवार थिए । 

यस दुर्घटनाबाट प्रभु इन्स्यारेन्सले ३० करोड रुपियाँभन्दा बढी दावी भुक्तानी गर्नुपर्ने अनुमान गरेको छ । सर्भे रिपोर्टपछि मात्रै यसको अन्तिम विवरण यकिन हुनेछ । हाललाई ३० करोड रुपियाँ हाराहारीमा दावी पर्ने अनुमान गरेको कम्पनीले जानकारी दिएको छ ।

सरकारी नियमनअनुसार चालक दलका सदस्यबाहेक सर्वसाधारण यात्रु र कम्पनीकै कर्मचारीको आन्तरिक उडानमा २० हजार डलरको अनुपातमा बीमा गरिएको हुन्छ । चालक दलका सदस्यको भने न्यूनतम् ५० हजार डलरको बीमा गरिएको हुन्छ । यस्तो बीमा पाइलटहरुको हकमा एक लाख डलरसम्म हुने गरेको वायुसेवा कम्पनीहरुको भनाई छ । 

त्यो अनुसार दुर्घटनामा मृत्यु भएका यात्रुको नाममा आफन्तले प्रतिमृतक यात्रु २० हजार डलर (२६ लाख ८४ हजार रुपियाँ) पाउनेछन् । आज दुर्घटना भएको जहाजमा को–पाइलटबाहेक अरु एयरलाइन्सकै कर्मचारी र उनका परिवार हुन् । उनीहरुको बीमा दावी पाँच करोडभन्दा बढी रहने बताउँदै बाँकी रकम जहाजको बीमावापत रहने कम्पनीको प्रारम्भिक अनुमान छ ।  

घाइते पाइलटको उपचारमा भएको खर्च पनि बीमा कम्पनीले नै बेहोर्नुपर्नेछ । यो बाहेक क्षतिग्रस्त जहाजको पनि दावी पर्नेछ । त्यसको दायित्व बीमा कम्पनीले बेहोर्नुपर्नेछ । जहाज दुर्घटना हुँदा तेस्रो पक्षलाई पुर्याएको क्षतिको पनि दावी भुक्तानी गर्नुपर्छ । यो बाहेक उद्दार कार्यमा भएको खर्चको दायित्व पनि बीमा कम्पनीले नै गर्नुपर्नेछ । उद्दार कार्यमा खटिएका नेपाली सेना, नेपाली प्रहरी, एम्बुलेन्स र अस्पताल लगायतको बिलको आधारमा बीमा कम्पनीले दावी भुक्तानी दिनेछ । 

तीस करोडको दावी परे पनि यसले प्रभु इन्स्योरेन्सको वित्तीय अवस्थामा कुनै असर गर्ने छैन । यसमा ०.३ प्रतिशत जोखिम मात्रै कम्पनीले राखेको छ । बाँकी ९९.७ प्रतिशत जोखिम भने पुनर्बीमामार्फत विदेशी कम्पनीहरुलाई हस्तान्तरण गरिएको छ । यसअनुसार प्रभु इन्स्यारेन्सले नौदेखि दश लाख रुपियाँ मात्रै तिरे पुग्छ । 

Advertisement