विभिन्न देशका मन्त्रीहरुसँग नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल

Advertisement

काठमाडौं । भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विभिन्न देशका मन्त्रीहरू तथा गुजरातका मुख्यमन्त्रीहरुसँग नेपालमा धार्मिक पर्यटक भित्र्याउने तथा गौतमबुद्ध र पोखरा विमानस्थलमा हवाई उडान गर्ने विषयमा  छलफल भएको छ । 

भारतको गुजरातमा जारी आठौं अन्तर्राष्ट्रिय धर्म–धम्म सम्मेलनका क्रममा भएका साइडलाइन बैठकमा मन्त्री पाण्डे र भारतको गुजरातका मुख्यमन्त्री भूपेन्द्र पट्टेल, भूटानका गृहमन्त्री छिरिङ तथा कम्बोडियाका संस्कृति तथा धर्म राज्यमन्त्री नगुन सेडपिकडेसबीच शनिवार भेट गरेका थिए ।

Advertisement

मुख्यमन्त्री पट्टेलसँगको भेटमा द्विपक्षीय हित र चासोका विषय छलफल भएको थियो । साथै नेपाल–भारतबीच सदियौं पुरानो धार्मिक, सास्कृतिक एवं ऐतिहासिक सम्बन्धको चर्चा भएको थियो । 

भेटका अवसरमा पर्यटनमन्त्री पाण्डेले भारतको सोमनाथधाम र पशुपतिनाथ धामको अन्तरसम्बन्धलाई कसरी जनस्तर सम्म विस्तार गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरेको थियो । सो भेटमा मन्त्री पाण्डेले पोखरा र लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न चहाने अन्तराष्ट्रिय कम्पनीहरुलाई इन्धन लगायतका विभिन्न शुल्कमा छुट सहुलियत दिएको जानकारी गराउँदै गुजरातबाट पोखरामा सिधा हवाई उडान गर्न आग्रह गरेका थिए । उनले नेपालको पर्यटकीय राजधानी पोखरा हुँदै मुक्तिनाथ दर्शनका लागि जाने धार्मिक पर्यटकलाई आकर्षित गर्न सकिने सम्भावनाको बारेमा जानकारी दिए ।

कम्बोडियाका संस्कृति तथा धर्म राज्यमन्त्री नगुन सेडपिकडसँगको भेटघाटका क्रममा मन्त्री पाण्डेले भगवान बुद्धको जन्म नेपालमा भएको र बुद्ध धर्मको विस्तार कम्बोडियामा भएको ऐतिहासिक पक्ष उजागर गर्दै कम्बोडिका बौद्ध धर्मावलम्बीहरुलाई बुद्ध जन्मस्थलको भ्रमणमा ल्याउने वातावरण बनाउन आग्रह गरेका थियो । मन्त्री पाण्डेले कम्बोडियामा ९० प्रतिशत भन्दा बढी बौद्ध धर्मावलम्बीहरु रहेको उल्लेख गर्दै बुद्ध जन्मिएको देश नेपाल र बुद्ध धर्म फस्टाएका देश कम्बोडियाबीच सम्पर्क तथा सम्बन्ध थप विस्तार गर्नु पर्ने कुरामा जोड दिए । 

त्यस्तै भूटानका गृहमन्त्री छिरिङसँग भूटानको थिम्पुबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न आग्रह गरेको थियो । भेटका क्रममा भूटानी गृहमन्त्रीले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भूटानले स्तुपा निर्माण गर्न चाहेको र त्यसका लागि आवश्यक सहयोगका लागि आग्रह गरेका हुन् । 

यसैबीच मन्त्री पाण्डेसँग भारतको डा।बाबासायब अम्डेकर खुल्ला विश्वविद्यालयका उपकुलपति प्रा।डा। अमी उपाध्ययाले शनिवार भेटमा भाषा र संस्कृतिको जगेर्ना गर्न नेपाल र विश्वविद्यालयबीच कसरी सहयोगको आदानप्रदान हुन सक्छ भन्ने विषयमा छलफल भएको थियो । सोही भेटमा उपकुलपति उपाध्यायले नेपालको नेपाल भाषा, नेवा संस्कृति र पाली भाषाको बारेमा चासो राखेका थिए । 

भेटमा नेपालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय अन्तर्गत विभिन्न प्रतिष्ठानहरु रहेको र उनीहरुलाई सो विश्वविद्यालयसँग आवद्ध गरी कसरी भाषा संस्कृतिको जगर्ने गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । शुक्रबारबाट शुरु सो सम्मेलनमा विभिन्न १८ देशका मन्त्रीहरु तथा विज्ञहरु गरी करीब तीनसय जनाको सहभागिता रहेको थियो ।
 

Advertisement