सुनमा राष्ट्र बैंकको लगानी साढे ८२ अर्ब  पुग्यो, गत आवमामात्रै १६.६१ अर्ब थप

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनमा ८२ अर्ब ४३ करोड १३ लाख रुपियाँ लगानी गरेको देखिएको छ । राष्ट्र बैंकबाट प्राप्त गत आर्थिक बर्ष २०८०–८१ सम्मको तथ्यांकले यस्तो देखाएको हो । 

गत आवमा राष्ट्र बैंकले सुनतर्फको लगानी २५.३ प्रतिशतले बढाएको पनि देखिन्छ । अघिल्लो आव २०७९–८० सम्म राष्ट्र बैंकले सुनमा ६५ अर्ब ८१ करोड २७ लाख रुपियाँ लगानी गरेको थियो । गत आवसम्म आउँदा त्यो १६ अर्ब ६१ करोड ८६ लाख रुपियाँले बढेर साढे ८२ अर्ब रुपियाँ नजिक पुगेको हो । 

Advertisement

पछिल्लो समय मुल्य बढ्दा पनि राष्ट्र बैंकसँग भएको सुनको ‘भ्यालुएशन’ बढेको छ । त्यसले सुनको लगानी बढेको देखाएको छ । बुधबार नेपालमा सुनको मुल्य प्रतितोला एक लाख ५३ हजार एक सय रुपियाँ छ, यो हालसम्मकै उच्च हो । साथै, राष्ट्र बैंक आफैले थप सुन किनेर पनि लगानी बढाएको त्यहाँका अधिकारीहरु बताउँछन् । 

पछिल्लो समय विश्वभर नै सुनको महत्व बढ्दै गएको छ । बिश्व अर्थतन्त्रमा देखिएको शिथिलताका कारण सुरक्षित लगानीको रुपमा यसको महत्व बढेको हो । साथै, मुद्रा निष्काशन गर्दा केन्द्रीय बैंकले राख्नुपर्ने सुरक्षणमा पनि सुनलाई पहिलो बस्तु तोकिएको छ । मुद्रा निष्काशनमा पहिला डलरलाई नै पहिलो र सुरक्षित बस्तु तोकिएको थियो । तर, अहिले सुनलाई पहिलो र सुरक्षित सुरक्षण बस्तु तोकिएको छ । त्यसपछि यसको झन् महत्व बढेको छ । त्यसमाथि पछिल्लो समय विश्व बजारमा सुनको मुल्य निरन्तर बढ्दो क्रममा छ । विश्वका ठूला–ठूला देशले डलरको सट्टा सुन नै रिजर्भ राख्न थालेका छन् । सोही क्रममा नेपाल राष्ट्र बैंकले पनि सुनमा लगानी बढाएको देखिन्छ । राष्ट्र बैंकले बैदेशिक सम्पत्ति अन्तरगत सुनमा लगानी गरेको हो । 

राष्ट्र बैंकले उक्त सुन पछि बिक्री पनि गर्न सक्नेछ । वा सोही सुनलाई सुरक्षण राखेर नयाँ नोट छाप्न पनि सक्नेछन् । 

कुनै पनि देशमा मुद्रा निष्काशन गर्ने अधिकार केन्द्रीय बैंकलाई हुन्छ । सोहीअनुसार नेपालमा यस्तो मुद्रा निष्काशन गर्ने अधिकार अहिले राष्ट्र बैंकलाई छ । कुनै पनि देशका केन्द्रीय बैंकले मुद्रा निष्काशनका लागि सिंगापुर स्थित ब्यासेल नामक संस्थामा सुन, डलर जस्ता सम्पत्ति सुरक्षण राख्नुपर्छ । त्यसपछि मात्रै मुद्रा निष्काशन गर्न पाइन्छ । 
व्यासेलले २०२३ जवनरीदेखि नोट निष्काशनका लागि सुनलाई पहिलो र विश्वसनीय बस्तु तोकेको छ । पहिला यो स्थानमा डलर रहेको थियो । अहिले त्यो ठाउँमा सुन राखिएको छ । त्यसपछि अधिकांश देशका केन्द्रीय बैंकहरुले सुनमा लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकले पनि त्यो अभ्यास सुरु गरेको देखिन्छ । 
 

Advertisement