लान्द्रुक मोदी जलविद्युतमा ६ बैंकले १२ अर्ब बढी लगानी गर्ने, दशैंपछि निर्माण सुरु

Advertisement

काठमाडौं । गण्डकी प्रदेशको कास्कीको अन्नपूर्ण गाउँपालिकामा बन्ने ९९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा ऋण लगानी जुटेको छ । परियोजनामा माछापुच्छ्रे बैंकको नेतृत्वमा छ वटा बैंकले १२ अर्ब रुपियाँ भन्दा बढी लगानी गर्न लागेका हुन् । 

अन्नपूर्ण विद्युत् विकास कम्पनीले यो परियोजना बनाउँदैछ । आइतबार काठमाडौंमा बिशेष समारोह गरेर कम्पनी र माछापुच्छ्रे, ग्लोबल आइएमई, एभरेष्ट, नेपाल एसबिआई, कृषि विकास बैंक तथा लुम्बिनी विकास बैंकबीच ऋण लगानी सम्झौता भएको हो । 

Advertisement

परियोजना ९९ मेगावाटको भए पनि अहिले नेपाल विद्युत् प्राधिकरणसँग ८६.५९ मेगावाट विद्युत् खरिद बिक्री गर्ने गरी सम्झौता भएको छ । त्यो अवस्थामा अहिले सोही क्षमतामै परियोजना बनाइदैछ । त्यो क्षमतामा परियोजना बनाउँदा १६ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । त्यसको ७५ प्रतिशत लगानी ऋण मार्फत जुटाइनेछ ।

सम्झौताअनुसार माछापुच्छ्रेले चार अर्ब, नेपाल एसबीआईले तीन अर्ब, ग्लोबल आईएमईले दुई अर्ब, कृषि विकासले एक अर्ब ५० करोड, एभरेष्टले पनि एक अर्ब ५० करोड र लुम्बिनी विकासले बैंकले ७५ करोड गरेर १२ अर्ब ७५ करोड रुपियाँ लगानी गर्नेछन् । यद्यपि, यो रकम स्वःपुँजी–कर्जा अनुपात भन्दा बढी हो । त्यो अवस्थामा ऋण रकम केही कम गर्न सकिने कम्पनीको भनाइ छ ।

प्राधिकरणसँग बाँकी क्षमताको पीपीए भएपछि परियोजनाको क्षमता ९९ मेगावाटमा विस्तार गरिने कम्पनीका सञ्चालक गणेश कार्कीले जानकारी दिए । त्यसका लागि थप लगानी चाहिने पनि उनले बताए । 

अब दशैं पछि परियोजनाको निर्माण पनि सुरु गर्ने उनले बताए । ‘लगानी जुट्ने पक्का भयो । अब दशैं पछि परियोजनाको निर्माण सुरु हुन्छ,’ उनले भने, ‘४–५ बर्षमै परियोजना तयार गर्ने लक्ष्य छ ।’
 

Advertisement