तयार भयो बीमा साक्षरता फ्रेमवर्क, बीमालाई दीर्घकालीन बचत र लगानीको माध्यम बनाइने

Advertisement

काठमाडौं । बीमाको साक्षरता बढाउन नियामक निकाय नेपाल बीमा प्राधिकरणले छुट्टै फ्रेमवर्क तयार गरेको छ । 

अब प्राधिकरणले सरोकारवालाहरुको सुझाव लिएर उक्त फ्रेमवर्कलाई अन्तिम रुप दिने बताएको छ । ‘बीमा साक्षरता रुपरेखा, २०८१’ नामक दिइएको उक्त फ्रेमवर्कको मस्यौदा सुझावको लागि प्राधिकरणले सोमबार आव्हान गरेको छ । 

Advertisement

त्यसमा बीमा कम्पनी र अरु सरोकारवालाले असोज ३० सम्म सुझाव दिन सक्नेछन् । सुझावको आधारमा फ्रेमवर्कलाई अन्तिम रुप दिइने प्राधिकरणका उप निर्देशक कुन्दन सापकोटाले बताए । फ्रेमवर्कको मस्यौदामा बीमासम्बन्धी ज्ञान, सीप, मनोवृत्ति र व्यवहार भएपछि मात्रै कुनै पनि व्यक्तिमा बीमा साक्षरता हुने गरि परिभाषित गरिएको छ ।

रुपरेखामार्फत प्राधिकरणले बीमाको पहुँच समावेशीकरण तथा साक्षरता बढाउने रणनीति बनाएको छ । त्यसका लाग लक्षित वर्ग केन्द्रित बीमा साक्षरता अध्ययन सामग्रीको प्रयोग सुनिश्चित गरिने, ग्रामीण तथा दुर्गम क्षेत्रमा बीमाको सेवाको उपलब्धता बढाइने, स्थानीय तह, विद्यालय, कलेज र अन्य क्षेत्रमा बीमा साक्षरता कार्यक्रम विकास गरिने, बीमा शिक्षासम्बन्धी विभिन्न विषयलाई विद्यालयस्तरको पाठ्यक्रम विकास केन्द्रसँग आवश्यक समन्वय गरिने, बीमाको वार्षिक कार्यक्रमअन्तर्गत विभिन्न उच्च माध्यमिक विद्यालयस्तरका विद्यार्थीलाई लक्षित गरी हरेक वर्ष विद्यार्थीसँग बीमा कार्यक्रम सञ्चालन गरिने र श्रव्यदृष्य सामग्री निर्माण गरी राष्ट्रियस्तरका टेलिभिजन र बीमाका आधिकारिक सामाजिक सञ्जालबाट प्रसारण गरिने कार्यनीति बनाएको छ ।

यस्तै, बीमा चेतना ज्ञान र सीपको अभिबृद्धि गर्दै जिम्मेवार वित्तीय आचारणको विकास गर्ने लक्ष्य पनि फ्रेमवर्कमा लिइएको छ । त्यसका लागि बीमालाई आर्थिक सुरक्षा साथै दीर्घकालिन बचत र लगानीको उत्तम माध्यमको रुपमा स्थापित गरिने बताइएको छ ।

बीमा सेवाका उपभोक्ताको हित संरक्षण गर्ने नीति पनि यसमा ल्याइएको छ । त्यसका लागि मागमा आधारित बीमा व्यवसाय सञ्चालन गरि उपभोक्ता हित संरक्षण गरिने बताइएको छ । यसैगरि बीमा प्रक्रियामा सरलता तथा शिघ्रता ल्याउन आवश्यक पहल गरिने बताइएको छ । बीमा क्षेत्रमा प्रविधिको प्रयोग तथा अन्तरराष्ट्रिय आवद्धता कायम गर्ने नीति लिइएको यस फ्रेमवर्कमा बीमाको साक्षरता बढाउन नियमन र सुपरिवेक्षण संरचना सुदृढ बनाउने बताइएको छ । 

Advertisement