तिहारसम्म ट्रयाक खुल्ने आशा, पुनःनिर्माण भने अन्योलमा

बाढीले बीपी राजमार्गको २१ सय मिटर सडक नै गायव,  दशैंअघि  सञ्चालन गर्न असम्भव

Advertisement

काठमाडौं । पछिल्लो बर्षाका कारण आएको काठमाडौं–धुलीखेल–सिन्धुली–बर्दिबास अर्थात् बीपी राजमार्गको झण्डै २१ सय मिटर सडक खण्ड बगाएको छ । 

सडक बिभाग र नेपाली प्रहरीको पछिल्लो अद्यावधिक तथ्यांकले रोशी देखि नेपालथोकसम्मका बिभिन्न ठाउँमा गरेर सो बराबरको सडक रोशी खोलामा आएको बाढीले बगाएको हो । त्यस ठाउँमा सडकको कुनै संरचना नै छैन । सडकको कुनै नाम निसाना नै नभएको प्रहरीको भनाइ छ । 

Advertisement

जापानको आर्थिक तथा प्राविधिक सहयोगमा बनेको यो राजमार्गको कुल लम्बाई १६० किमी छ । यसले पुर्वी नेपाल र मधेशलाई काठमाडौंसँग जोड्छ । त्यसमा रोशीदेखि नेपालथोकसम्मको दुरी भने ३० किलोमिटर छ । त्यसमा रोशी खोलाले ठाउँ ठाउँमा गरेर २१ सय ५० मिटर सडक बगाएको प्रहरीको तथ्यांकमा उल्लेख छ । हाल उक्त सडक पुर्ण रुपमा अवरुद्ध छ । कयौं यात्रुहरु अझै पनि सडकमा अलपत्र छन् ।

प्रहरीको तथ्यांकअनुसार  डालाबेँसी र कालढुंगा भन्ने ठाउँमा पाँच–पाँच सय मिटर सडक बाढीले बगाएको छ । त्यो बाहेक चार सय बेँसीमा ५० मिटर, माम्तीखोलामा १०० मिटर, चिउरीवासमा ३०० मिटर, एक नम्बर पुल क्षेत्रमा २५० मिटर, नार्कबजारमा १५० मिटर, चौकीडाँडामा १०० मिटर र दाउन्नेमा १०० मिटर सडक रोशी खोलामा आएको बाढीले बगाएको छ । 

त्यसले गर्दा बिपी राजमार्ग अहिले पुर्ण रुपमा अवरुद्ध नै छ । त्यसको लागि बैकल्पीक सडक समेत छैन । सडक बिभागले सोमबार साँझ तयार गरेको एक प्रतिवेदनअनुसार त्यहाँ यातायात सञ्चालन गर्न नयाँ ट्रयाक नै खोल्नुपर्ने भएको छ । त्यसको लागि अध्ययन समेत गर्नूपर्ने हुदाँ समय लाग्ने बिभागको प्रतिवेदनमा उल्लेख छ । 

त्यहाँ रोशी नदीकै बगर प्रयोग गरेर र भित्ता कटान गरेर नयाँ ट्रयाक खोल्नुपर्छ । त्यसका लागि रोशी नदीमा पानीको सतह सामान्य अवस्थामा आउनुपर्छ । तर, अझै रोशी खोलामा पानीको सतह सामान्य अवस्थामा आइसकेको छैन । रोशी खोलाको पानी सामान्य सतहमा आएपछि मात्रै अध्ययन गरेर नयाँ ट्रयाक खोल्नुपर्ने हुन्छ । त्यसो गर्दा समय लाग्ने बिभागको भनाइ छ । बिभागका एक अधिकारीका अनुसार दशैंअघि उक्त सडक सञ्चालनमा ल्याउन सकिने अवस्था छैन । तिहारसम्म सडक सञ्चालनमा ल्याउने योजना रहेको बिभागका एक उच्च अधिकारीले बताए । 

नयाँ ट्रयाक तत्काल सडक सञ्चालन गर्न लागि मात्रै हो, कुन कच्ची हुन्छ । तर, त्यो पनि तिहारसम्म मात्रै खुल्ने बताइएको छ । दीर्घकालीन रुपमा सडक सञ्चालनमा ल्याउन त्यहाँको सडक पुर्नस्थापना गर्नूपर्छ । त्यसका लागि छुट्टै बजेट व्यवस्था गरेर खरिद प्रक्रियामा मै जानुपर्छ । त्यसो गर्दा यसमा समय लाग्ने छ । तसर्थ, अहिलेलाई ट्रयाक खोल्ने बिषयमै बढी केन्द्रित हुने बिभागको भनाइ छ ।
 

Advertisement

Advertisement