दशैँको मुखमै बजारबाट आधा खर्ब तरलता तान्दै केन्द्रीय बैंक

Advertisement

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियसँगै नेपाल राष्ट्र बैंकले दशैँको मुखैमा आधा खर्ब तरलता तान्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेपको रुपमा थुप्रियको तरलताको उचित व्यवस्थापन हुन नसक्दा केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत बुधबार ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । 

७ दिनका लागि उक्त तरलता प्रशोचन गर्न लागिएको बैंकले सूचनामार्फत जानकारी दिएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । 

Advertisement

केहीँ महिना यता बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिने तर कर्जाको माग नहुँदा तरलता व्यवस्थापनमा सकस हुँदै आएको छ । यसैले केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत निरन्तर तरलता प्रशोचन गरिरहेको छ । 

पछिल्लो तथ्यांक अनुसार असोज १३ गतेसम्म बैंकहरुले ६५ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दैगर्दा सोही अवधिमा यता जम्मा ५२ खर्ब ४४ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गर्न सकेका छन् । 

समीक्षा अवधिमा ७८.५१ प्रतिशत कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंकहरुसँग ७ खर्ब रुपैयाँ बढी लगानीयोग्य पुँजी (तरलता) रहेको छ । तर कर्जाको माग नै नहुँदा केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकल उपकरणको माध्ययमबाट तरलता प्रशोचन गरिरहेको हो । 

सोही निरन्तरता स्वरुप केन्द्रीय बैंकले पछिल्लो पटक ७ दिनका लागि थप ५० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।
केन्द्रीय बैंकले बजारमा तरलता अभाव हुँदा रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुँदा ठिक उल्टो रिभर्स रिपो अर्थात् निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन गर्नेगर्छ । 
 

Advertisement

Advertisement