ला लिगा लिगः बिल्बाओसँग बराबरीमा रोकियो बार्सिलोना

Advertisement

म्याड्रिड । स्पेनिस ला लिगाको उपाधि दावेदार टोली बार्सिलोना एथलेटिक बिल्बाओसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा क्याटलान क्लब बार्सिलोना एथलेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

बिल्बाओको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । बिल्बाओका लागि इनिगो मार्टिनेजले गोल गरे । बार्सिलोनाका मेम्फिस डिपाएले बराबरी गोल फर्काएका थिए ।

Advertisement

खेलमा सुरुवाती अग्रता घरेलु टोलीले लिएको थियो । ५०औं मिनेटमा इनिगोले इकर मुनिएनको कर्नरबाट प्राप्त पासमा हेडगोल गर्दै बिल्बाओको उत्साह बढाए । खेलको सुरुवातदेखि बल पोसेसनमा पकड जमाएको बार्सिलोनाले ७५औं मिनेटमा पुगेर बराबरी गोल फर्कायोएको थियो ।

मेम्फिस डिपाएले सर्जी रोबर्टाेको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बार्सिलोनाका लागि डिपाएको यो डेब्यु गोल हो । २७ बर्षीय डिपाय यसै सिजन फ्रेन्च क्लब लियोनबाट बार्सिलोना आएका हुन् ।

बार्सिलोनाले ६७ प्रतिशत बल नियन्त्रणमा राखेपनि बिल्बाओको दबाब झेल्यो । घरेलु टोलीको सुरुवाती गोलले पनि बार्सिलोनालाई थप गाह्रो बनाएको थियो । बिल्बाओविरुद्ध नौ वटा पोस्ट प्रहारको अवसर बनाएको बार्सिलोना अन्तमा अंक बाँड्न बाध्य बन्यो ।

बल पोसेसनमा मध्यम देखिएको बिल्बाओले पनि १६ वटा पोस्ट प्रहार गरेको थियो । खेलको अन्तिममा बार्सिलोना १० खेलाडीमा समेटियो । दोस्रो हाफको इन्जुरी समयमा इरिक गार्सियाले सोझै रोतो कार्ड पाए । बिल्बाओका निको विलियम्सलाई खराव ट्रयाकल गरेपछि इरिक रोतो कार्ड पाउँदै बाहिरिएका थिए । बार्सिलोनाका फ्राङ्की डे जोङ ‘म्यान अफ दी म्याच’ भए ।

बराबरीसँगै दुई खेलबाट चार अंक बनाएको बार्सिलोना शीर्ष स्थानमा छ । बार्सिलोनाले पहिलो खेलमा रियलल सोसिडाडलाई ४–२ गोलले हराएको थियो । लगातार दोस्रो बराबरी खेलेको बिल्बाओ दुई अंक जोड्दै नवौं स्थानमा छ ।

ला लिगा अन्तर्गत शनिबार राति नै भएको अर्को खेलमा मालोर्काले १० खेलाडीमा सिमिति डिर्पोटिभो अलाभेसलाई १–० गोलले हरायो । अलाभेसलाई हराउन मालोर्काका फेर निनोले ८०औं मिनेटमा निर्णायक गोल गरे । निनोले साल्भा सेभिल्लाको पासमा गोल गरेका थिए ।

यसअघि ६६औं मिनेटमा अलाभेसका रुवेन डुअर्टे दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि मालोर्काको भाग्य खुलेको थियो । मालोर्काका डानी रोड्रीग्वेज ‘म्यान अफ दी म्याच’ भए । जितसँगै दुई खेलबाट चार अंक बनाएको मालोर्का दोस्रो स्थानमा छ । लगातार दोस्रो हार खेपेको अलाभेस अन्तिममा छ ।

अन्य खेलमा भ्यालेन्सिया र ग्रानाडाले १–१ तथा भिल्लारियल र स्पान्योलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । लिग अन्तर्गत आइतबार राति साविक विजेता एट्लेटिको म्यड्रिड र इल्चे, रियल म्यड्रिड र लिभान्ते तथा रियल सोसिडाड र रायो भालेकानोबीच प्रतिस्पर्धा हुनेछ ।

Advertisement

Advertisement