तेस्रो वरियतामा रहेका धिरजप्रताप सिंह आईजीपी नियुक्त

Advertisement

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी)मा तेस्रो वरियतामा रहेका एआईजी धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । 

पूर्वानुमानअनुसार नै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा बढुवा गरेको हो । चुनावको मुखमा पहिला जस्तो विवाद र कानुनी झन्झन नआओस भन्नका लागि देउवाले पहिलो बरियताका विश्वप्रकाश पोखरेललाई आईजीपी बनाउनसक्ने अडकल गरे पनि देउवाले आफ्नै विश्वासपात्रलाई बढुवा गरेका हुन् । 

Advertisement

गृहमन्त्री बालकृष्ण खाँणसहित गठवन्धन सरकारका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल पोखरेलको पक्षमा रहे पनि देउवाको अडानका कारण सिंह नै आईजीपीमा बढुवा हुन सफल भएका छन् । वरियताको विवादलाई लिएर आइतबारको मन्त्रिपरिषद बैठक पनि लम्बिएको थियो । 

पोखरेल आर्थिक कारोबार मिलाउनदेखि कुटनीतिक क्षमतामा पनि अरुभन्दा अगाडि मानिदै आएका थिए । तर देउवा दाइना नहुँदा उनला्ई बढुवा हुन कठिनाई भएको छ । प्रतिस्पर्धामा रहेका अन्य दुईको भने संभावना न्यून रहेको थियो । 

तत्कालिन प्रधानमन्त्री केपी ओलीले पद सिर्जना गरेर एकलरुपमा बढुवा गरी विश्वराज पोखरेललाई आईजीपीको लाइनको अगाडि ल्याएका थिए । उनी पोखरेललाई नै आईजीपी नियुक्त गर्ने पक्षमा थिए । उनले सबै दलका शीर्ष नेताहरुसँग राम्रै सम्वन्ध बनाए पनि देउवालाई विश्वासमा लिन नसक्दा सिंह बढुवा हुन सफल भएका हुन् । उनी अब आउँदो चैतसम्म आईजीपी हुनेछन् । 

एआईजी सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत थिए । आईजीपीका अर्का दावेदार सहकुल थापा एमालेसँग नजिक मानिन्छन् भने रवीन्द्र धानुक माओवादी केन्द्य्रसँग नजिक मानिन्छन् । थापा दोस्रो वरियतामा थिए । यस्तै वरियता विवादमा यसअघि सर्वोच्च अदालतकी तत्कालिन प्रधानन्यायाधीश सुशील कार्कीले सरकारको निर्णय उल्ट्याईदिएर जयबहादुर चन्दको नियुक्ति बदर गरिदिएकी थिइन् । सोही कारण उनीमाथि दलहरुले महाअभियोगको प्रस्तावसमेत ल्याएका थिए । 

प्रहरी नियमावली–२०७१ को नियम ४१ मा एआईजीमध्येबाट ‘सरकारले उपयुक्त देखेका उम्मेवारलाई प्रहरी महानिरीक्षक’ मा बढुवा गर्न सक्ने’ भने पनि जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्य लगायतलाई आधार बनाएर निर्णय लिनुपर्ने भनिएको छ । हालका आईजीपी शैलेश थापा क्षेत्रीको कार्यकाल आज नै सक्किएको छ । उनीसँगैको ब्याचका अरुको पनि आजबाट अवकाश हुँदैछ । आज नियुक्त भएका नयाँ आईजीपी दैलेखका हुन् । 

त्यस्तै, मन्त्रिपरिषदले सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ । सशस्त्रमा अर्याल आफ्नो ब्याचीमा एक मात्र एआइजी थिए । सीमा सुरक्षासम्बन्धी जानकार अर्यालसँग यसअघि सशस्त्र प्रहरीको प्रवक्ताको रुपमा पनि काम गरेको अनुभव छ । 

Advertisement

Advertisement