म मेयरमा प्रस्ताव भएको मेरो श्रीमान प्रकाशमानलाई थाहा नै थिएनः सिर्जना सिंह

Advertisement

काठमाडौं । सत्तारुढ गठबन्धनको काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सिर्जना सिंहले आफू विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउने दावी गरेकी छन् । 

शनिबार नेपाली काँग्रेस निकट बुद्धिजीवि पेशाकर्मी परिचालक समितिले गरेको कार्यक्रममा उनले आफू मेयरमा विजयी भएमा काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारको दूर्गन्धबाट मुक्त गराउने बताइन् । 

Advertisement

उनले डिजिटल प्रविधि अपनाएर घरैबाट जनताले सेवा लिने व्यवस्था गर्न पनि आफू लागिपर्ने बताइन् । सिंहले सबै महिलाहरुको भावनालाई कदर गरेर अघि बढने योजना पनि सुनाइन् । 

उनले भनिन, ‘मेरो पहिलो प्रतिवद्धता भनेको सुशासन हो । घरभित्र फोहोर छ भने बाहिर सफा भएर केही हुँदैन । त्यसकारण मेरो पहिलो प्राथमिकता सुशासन हुन्छ । त्यसका लागि मैले भ्रष्टाचारमुक्त महानगरपालिका बनाउनु पर्नेछ । आईटीको जमाना छ । डिजिटल प्रविधि अपनाएर जनताको काम घरबाट हुने व्यवस्था गर्नेछु । महिलाहरुको समस्या बुझेकाले तत्काल समाधान गर्न पहल गर्नेछु ।’

सिंहले आफूलाई नेपाली काँग्रसले सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाएको दावी गरिन् । सुरुमा मेयरका लागि नेपाल महिला संघ, काठमाडौंले प्रस्ताव गर्दा आफ्नो श्रीमान प्रकाशमान सिंहलाई थाहा नै नभएको जिकिर गर्दै उनले थपिन, ‘मलाई थाहा थिएन । मेरो श्रीमानलाई त झन थाहा हुनै कुरै भएन । नेपाल महिला संघ, काठमाडौंमा मलाई मेयरमा उठनुपर्छ भनेर स्वतहःस्फूत रुपमा कुरा उठाएको हो । सधैभरी आरक्षणको कोटामा मात्रै महिलाहरु बस्नुपर्ने । अब मेयर र वडाध्यक्षहरु नै उठनुपर्छ र त्यसमा मेयरमा सिर्जना भाउजुलाई उठाउनुपर्छ भनेर नेपाल महिला संघ, काठमाडौले मलाई प्रस्ताव गरेको हो । त्यसपछि मेरा साथीहरुको पनि प्रेसर आयो । नेविसंघसहितका पार्टीको सबै भातृ संस्थाहरुबाट पनि दवाव आउन थाल्यो । पार्टीले सर्वसम्मत निर्णय गरेर मलाई मेयरको उम्मेदवार बनाएको हो । हो म गणेशमान, मंगलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती हुँ । त्यसमा मलाई गर्व छ ।’

गणेशमान, मंगलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती भएको नाताले मात्रै आफू मेयरको उम्मेदवारी नभएको उनको तर्क छ । सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका गणेशमान, मंगलादेवी र प्रकाशमान सिंहको परिवारको सदस्य भएर राजनीतिक आन्दोलनमा सरिक हुन पाउनु आफ्ना लागि गौरवको विषय भएको पनि बताइ्न । 

Advertisement

Advertisement