सञ्चार माध्यम नियन्त्रण हुने कुनै कानुन छ भने संशोधन गर्न सरकार तयार छः कानुनमन्त्री

Advertisement

काठमाडौं। कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्द बन्दीले कुनै पनि बहानामा पत्रकारमाथि नियन्त्रण र घेराबन्दी गर्न नहुने बताएका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्शन नेपालले मंगलबार गरेको कार्यक्रममा उनले भने, ‘सञ्चार माध्यममाथिको नियन्त्रण प्रचलित नेपाल कानुन, संविधान र नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय कानुनको प्रावधानविपरीत छ, भने त्यसमा समीक्षा आवश्यक छ । त्यसमा सुधार गर्न सरकार तयार छ । 

Advertisement

‘डिजिटल घेराबन्दीमा पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बन्दीले सञ्चारमाध्यमलाई नियन्त्रण होइन, जिम्मेवार बनाउन सरकार प्रतिबद्व रहेको बताए । 

सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले प्रविधिको प्रयोगले पत्रकारिताको दृष्टान्त परिवर्तन गरेको बताए । उनले प्रविधिको प्रयोगमार्फत सञ्चारमाध्यमले सही सूचना सम्प्रेषण गर्नुपर्ने बताए । हमालले यसका लागि सरकार सधैँ हातेमालो गरेर अगाडि जान तयार रहेको बताए । 

प्रेस काउन्सिल नेपालका अधिकृत झविन्द्र भुसालले अहिलेको अवस्थामा प्रविधिले अवसर र पहुँच सिर्जना गरेको बताए । तर, सुखद अवसरसँगै सामाजिक सन्जालको दुरुपयोग बढेको समेत उनको भनाई छ । 

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले विभिन्न बहानामा सञ्चारमाध्यमलाई नियन्त्रणमुखी बनाउन खोजिएको बताए। उनले नेपाललगायत विश्वका विभिन्न देशमा कानुन निर्माणका क्रममा पत्रकारको गोपनीयता उत्खनन गर्ने तथा प्रेस काउन्सिल जस्ता संस्थालाई समेत यसमा प्रयोग गर्न खोजिएको बताए । 

अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीलले सञ्चारमाध्यमसम्बन्धी कानुन बनाउँदा सरकारले सरोकारवालासँग छलफल नै नगरी छापामार शैली अपनाउने गरेको बताए । 

Advertisement

Advertisement