केशव स्थापित ‘डुलुवा’ दौरा सुरुवाल लगाएर पुनः मेयर बन्ने आशामा एमालेमा पुगेका छन्ः गगन

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले एमालेको सूर्य चिन्हलाई प्वाल पारेको बताएका छन् ।  मंगलबार गठबन्धनको तर्फबाट गरिएको काठमाडौं महानगरपालिकाको चुनावी सभामा उनले तीर र राजेन्द्र लिङ्देनको हलोले घोचेर एमालेको सूर्य चिन्ह प्वाल पारेको बताए । 

सत्तारुढ गठबन्धनको विरोध गर्ने एमालेले कमल थापा, राजेन्द्र लिङ्देनदेखि विप्लव र सिके राउतसम्म गठबन्धन गरिरहेको थापाले बताए । कांग्रेसलाई रुखमा भोट हाल्न नपाएका विचरा भनिएको उल्लेख गर्दै उनले एमालेले पनि गत निर्वाचनमा ५९ वटा क्षेत्रमा सूर्यमा भोट हाल्न नपाएको र हसिया हथौडामा भोट हालेको स्मरण गराए । 

Advertisement

थापाले गठबन्धनको राजनीति कसको कारणले गर्दा आएको हो भन्ने प्रश्न समेत गरे । उनले भनिन, ‘हामी कांग्रेसको कार्यकर्तालाई के भनेको पाउँछौ भने बिचरा बरा रुखमा भोट हाल्न पाएका छैनन् भनेर । काठमाडौंबासीले सोध्नुपर्छ, आम नेपालीले सोध्नुपर्छ, अघिल्लो चुनावमा ५९ वटा क्षेत्रमा एमालेको उम्मेदवार पनि थिएन । ५९ वटा क्षेत्रमा सूर्य चिन्हमा एक जनाले मत हाल्न पाएन ।’ 

महामन्त्री थापाले एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका उम्मेदवार केशव स्थापित सबै पार्टी डुलेर पुनः दौरा सुरुवाल लगाएर एमालेबाट मेयर बन्न आएको बताए । स्थापितलाई यसरी डुलेको बारेमा काठमाडौंका मतदाताले प्रश्न गर्नुपर्ने उनले बताए । 

थापाले भने, ‘काठमाडौंको मेयर हुन्छ । त्यसलाई छोडेर गएर माओवादीको प्राधिकरणको प्रमुख बन्छ । त्यसलाई छोडेर गएर प्रजा परिषद् पार्टी खोल्छ । त्यसलाई छोडेर गएर संघीय परिषद्को उम्मेदवार हुन्छ । त्यहाँबाट फन्को मारेर नाच्दै, गाउँदै अहिले एमालेको उम्मेदवार हुन्छ । उसलाई कसैले प्रश्न गर्दैन । ऊ हुन पाउने । ऊ एमाले पनि हुन पाउने, माओवादी पनि हुन पाउने, राजावादी पनि हुन पाउने । घुम्न पाउने, बस्न पाउने, उठ्न पाउने, नाच्न पाउने अहिले फेरि आएर दौरा सुरुवाल लगाएर आएर मै हो पनि भन्न पाउने । तर एउटा महिला नेविसंघमा काम गरेर, आन्दोलन गरेर, परिवारको जिम्मेवारी वहन गरेर, म पनि आउँछु, मैदानमा लड्छु । मनोनित गरेको पद होइन, चुनाव नै लडेर, भोट मागेर निर्वाचित हुने कोसिस गर्छु भन्दै गर्दा उसले चाहीँ जवाफ दिनुपर्ने । उसले चाहीँ उत्तर दिनुपर्ने ?’

Advertisement

Advertisement