काठमाडौं । स्थानीय निर्वाचन २०७९ को मतदान प्रक्रिया शुक्रबार बिहानबाट सुरु भएको छ । निर्वाचन आयोगले देशभर नै मतदान सुरु भइसकेको जानकारी दिएको छ ।
पाँच बर्षका लागि स्थानीय जनप्रतिनिधि चयन गर्न सुरु भएको मतदान अपरान्ह ५ बजेसम्म जारी रहने छ । देशका कुल ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र छ हजार ७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन हुने यस प्रक्रियामा एक लाखभन्दा बढीले उम्मेदवारी दिएका छन् ।
आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकाको एक वडासहित केही ठाउँमा भने उम्मेदवारको मृत्यु भएका कारण आज मतदान नहुने जानकारी दिएको छ ।
मतदानका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ जना योग्य रहेको आयोगले जनाए पनि ठूलो हिस्सा विदेशमा रहेको, निर्वाचनमा खटिने सरकारी कर्मचारीदेखि सुरक्षाकर्मीसम्मले मतदान गर्न नपाउने भएकाले ५५ देखि ७० प्रतिशतको हाराहारीमा मत खस्ने गरेको विगत छ ।
आयोगले देशभरका सबै मतदान केन्द्रमा सुरक्षितरुपमा मतदान गर्ने व्यवस्था मिलाइएको जनाएको छ । निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालित छ ।
मतदान सुरु भएसँगै विभिन्न दलका नेताहरुले मत खसालेका छन् भने मतदानस्थलमा लामो लामो लाइन देखिएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्नि सापकोटा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालगायतले मत खसालिसकेका छन् ।