फुटले एमालेलाई ठूलै चोट लाग्ने संकेत, गठवन्धन र कम्युनिष्ट विभाजन कांग्रेसलाई फाप्यो

Advertisement

काठमाडौं । अघिल्लो स्थानीय निर्वाचनमा भारतीय नाकाबन्दीविरुद्ध कडारुपमा प्रस्तुत भएका कारण आफ्नो पार्टी नेकपा एमालेलाई राम्रो मतका साथ विजयी गराउन सफल भएका सो पार्टीका अध्यक्ष केपी ओली यस पटक भने असफल हुने देखिएको छ । 

स्थानीय निर्वाचन २०७९ को जारी मतगणनाको प्रारम्भले एमालेको विरासतमा ठूलै धक्का लाग्ने देखिएको छ । भारतको नाकाबन्दीको विरुद्ध  लिएको अडान र अभिव्यक्तिका कारण ओलीका पक्षमा त्यो बेलामा राम्रो जनमत रहे पनि गएको पाँच बर्षमा विकासका नाममा जनतालाई आशा मात्रै बाँडेकाले उनको क्रेज घटेको जारी मतगणनाको प्रारम्भिक नजिताले देखाएको छ । 

Advertisement

कोभिड महामारीका कारण ओलीले आफ्नो शासनकालमा ठूलो उपलब्धी हासिल गर्ने अवस्था नभए पनि भ्रष्टाचारसम्वन्धी थुप्रै विवाद, भ्रष्टाचारको आरोप लागेकाहरुलाई कारवाही गर्नेभन्दा पनि संरक्षण गर्ने र पार्टी विभाजनको अवस्थाले गर्दा उनले स्थानीय निर्वाचनमा आफ्नो पार्टीलाई अपेक्षाकृत नतिजा दिलाउन नसक्ने प्रष्ट देखिएको छ । 

ओलीको राष्ट्रभक्ति र विकासको नारा पनि जनताले पत्याउन छोडेको प्रमाणको रुपमा स्थानीय निर्वाचनको नजिताले देखाएको छ । विशेषगरी शहरी क्षेत्रका जनतामा बढेको राजनीतिक चेतना र जागरुपताले पनि ठूला दलभन्दा स्वतन्त्र र साना दलप्रति जनताको आकर्षण बढेको देखिएको छ । 

तर  ग्रामीण क्षेत्रमा भने मतदाता किनबेच बढी हुने र राजनीतिक चेतना पनि राम्रो नहुँदा पूराना दलका उम्मेद्वारहरुलाई नै बढी मत दिएको देखिएको छ । 

अहिलेको स्थानीय चुनावबाट सबैभन्दा राम्रो लाभ भने नेपाली कांग्रेसले लिने देखिएको छ । अहिलेसम्मको परिणामअनुसार कांग्रेसले सबैभन्दा धेरै पालिकामा विजयी हासिल गरेको छ भने मतगण्णना भइरहेका सबैभन्दा धेरै स्थानमा अग्रता पनि लिएको छ । 

सत्ता साझेदारहरुसँग गठवन्धन बनाएर चुनाव लडेकाले कम्युनिष्टहरुलाई विभाजित गर्न सकेको अवस्थामा चुनाव गराएकाले कांग्रेसलाई फाइदा भएको हो । कांग्रेसको वर्तमान नेतृत्वप्रति जनताको कुनै आकर्षण नहुँदानहुँदै पनि पूरानो पार्टी भएकाले, लोकतान्त्रिक पार्टीको रुपमा चिनिएकाले र विपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह जस्ता नेताहरुको विरासतसँग सम्वन्ध जोडिएकाले धेरैले अझै पनि कांग्रेसलाई भोट हाल्दिने गरेको देखिन्छ । यद्यपि पछिल्लो समयमा जनताको सोचाईमा आएको परिवर्तनले कांग्रेसलाई परम्परागत भोट बैंक जोगाउन अब भने मुस्किल पर्ने काठमाडौं महानगरपालिकाको मतगणनाले देखाएको छ । 

यस निर्वाचनमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आफ्नो अस्तित्व कायम राख्ने देखिए पनि नयाँ जन्मिएको नेकपा एकीकृत समाजवादीको अस्थित्व भने संकटमा पर्ने देखिएको छ । तर भ्रष्टाचारको विरोध, राजसंस्था र हिन्दुराष्ट्रको माग बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा आएका लोकप्रिय नेता राजेन्द्र लिङदेनका कारण सो पार्टीको लोकप्रियता र जनमत भने यस निर्वाचनले प्रष्ट देखाउने संकेत दिएको छ । 

सोमबार बेलुकीसम्मको विवरणअनुसार कांग्रेसले ७२, एमालेले ५२, माओवादी केँन्द्रले ३७ र अरुले सात पालिकाको नेतृत्वमा जित हासिल गरेका छन् भने कांग्रेस २४४, एमाले १२८, माओवादी केन्द्र ७८ र अन्यले९१ स्थानमा अग्रता लिएका छन् । 

Advertisement

Advertisement