महिनैपिच्छे जनताबाट नौ अर्ब २० करोड कर अशुलेर पेट्रोलमा घाटा लाग्यो भन्न मिल्छ ?

Advertisement

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै मोर्चाका अध्यक्ष सिपी गजुरेलले पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरे । 

पटक–पटक गरिएको मूल्यवृद्धिले जनता मारमा परेको भन्दै उनले यसबीचमा गरिएको सम्पूर्ण मूल्यवृद्धि फिर्ता गरि पहिलेकै ठाउँमा ल्याउनुपर्ने बताए । अन्तर्राष्ट्रिय रुपमा बढेको मूल्यवृद्धिले मात्रै नभई सरकारले विभिन्न करहरु जोडेका कारण मूल्यवृद्धि भएको गजुरेलले बताए । 

Advertisement

उनले मूल्यवृद्धि फिर्ता गरी जनतालाई राहत दिइनुपर्ने बताए । गजुरेलले भने, ‘हिसाब गर्दा के देखिन्छ भने नौ अर्ब २० करोड रुपियाँ त महिनैपिच्छे यिनीहरुले आयल निगमबाट नाफा खाँदा रहेछन् । त्यो बोझ ग्राहकहरुलाई दिन्छन् । त्यसो हुनाले यो अन्यायपूर्ण छ । त्यसकारण यो तुरुन्त खारेज हुनुपर्छ भन्ने हामी माग गर्न चाहान्छौँ ।’ 

उनले थपे, ‘हामी देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट जोडदार के माग गर्न चाहान्छौ भने जहाँ अहिले बढेको छ, त्यसैलाई फिक्स गरेर छोडिदिने होइन, पहिलेकै ठाउँमा हुनुपर्छ । फिर्ता हुनुपर्छ । जति पनि यो बीचमा बढेको छ, त्यो सबै फिर्ता भएर जनतालाई राहत दिनुपर्छ भन्ने हामी माग गर्न चाहान्छौँ ।’

नेता गजुरेलले स्थानीय निर्वाचन मार्फत् जनताले वास्तविक लोकतन्त्रको अनुभुति गर्न नसकेको बताए । कतिपय ठाउँमा आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्दा कारबाही गरिनुले लोकतन्त्र नभई दलतन्त्र भएको उनले प्रष्ट्याए । 

गजुरेलले भने, ‘लोकतन्त्रमा त पार्टीहरुका बिचमा प्रतिस्पर्धा हुन्छ । उनीहरुले चुनावी घोषणापत्र निकाल्छन् । त्यो घोषणापत्रको आधारमा मतदाताहरुले निर्णय गर्छन् । कुन पार्टी ठिक छ भन्ने । त्यसपछि त्यही अनुसार उनीहरुले भोट हाल्छन् । तर प्रतिस्पर्धा नै छै्रन यहाँ । अनि के लोकतन्त्र भयो यो ? आफ्नो पार्टीको मान्छेले आफ्नै चुनाव चिन्हमा भोट हाल्दाखेरी कारबाही गर्नुपर्यो । म रुख चिन्ह लिन्छुभन्दा कयौँलाई कारबाही गर्यो । प्रचण्डहरुले त्यसैगरी हसियाँ हथौडावालालाई कारबाही गरे । यो कुन प्रकारको लोकतन्त्र हो ? को उम्मेदवार बन्छ भन्ने अधिकार कसलाई दिने ? नेतालाई दिने । यो लोकतन्त्र होइन, यो दलतन्त्र भयो ।’

निर्वाचनमार्फत् जनताले विकल्प खोजेको उनले बताए । गजुरेलले जनताले पूराना पार्टी र नेताहरुलाई विश्वास नगरेका कारण स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएको बताए । जनताले पूराना पार्टी र तिनका नेतृत्वको विकल्प खोजेको उनको भनाई थियो । 

Advertisement

Advertisement