बेवास्तामा काठमाडौं उपत्यकाको पोखरीहरु (फोटोफिचर)

Advertisement

काठमाडौं । राजधानी समेत रहेको काठमाडौं उपत्यका उच्च वर्ग तथा शिक्षित वर्गहरु बढी बस्ने शहर हो । भनिन्छ शिक्षित समाज र शिक्षित व्यक्तिले नैतिकताको विकास गर्छ । काठमाडौंमा बस्ने अधिकांश मानिस शिक्षित छन् । तर आफ्नो शिक्षालाई व्यवहारिक बनाउने कसरी ? र कहिले ? यो प्रश्न सधैँ नै उठिरहने गर्छ । 

हामी नैतिकताको पाठ सिकाउँछौँ, भाषण गर्छौं, कानूनका कुरा गर्छौं तर पालना गर्न त्यत्तिकै पछि छौँ । शहरमा शिक्षित मानिसको बसोवास रहेपनि नैतिकता भने कै
देखिन्छ । शिक्षित मानिस बसोवास गर्ने क्षेत्र नै अव्यवस्थित छ भने जताततै फोहोर छ । 

Advertisement

जनचेतना भएर पनि प्रयोगमा कमजोर छन् शिक्षित शहरका मानिसहरु । यो हेर्न र प्रमाणित गर्न अन्त जानै पर्दैन, काठमाडौं उपत्यकामा रहेका केही पोखरीहरुको कन्तबिजोकले नै यो कुरा स्वतः प्रमाणित गर्छ । 

सयौं बषैदेखिको सभ्यता र कलाको नगरीकारुपमा परिचित काठमाडौं पहिचन बोकेको शहर हो । तर आज काठमाडौंको पहिचान, सुन्दर, हराभरा, व्यवस्थितको ठिक विपरित् छ भन्दा फरक पर्दैन । काठमाडौं उपत्यकाको पोखरी तालतलैया र त्यहाँको दृश्य हेर्न सकिँदैन । करोडौं खर्च गरेर सिंगारिएको काठमाडौंको कमल पोखरी होस् वा राज्यस्तरबाट बेवास्तामा परेको चापागाँउको पल्स्वा पुखु, यी सबैको अवस्था उस्तै छ ।

खानेपानीको समेत हाहाकार रहेको काठमाडौंका पोखरीका पानी फोहोर हुनुलाई स्वभाविक नै मान्न सकिएला तर पोखरीमा तैरिरहेका बोतल, प्लाष्टिक र कागजका टुक्राहरु अनि जीर्ण भइसकेको पोखरीको पुनःनिर्माण नहुनुले यो भव्य शहरका नागरिकहरुलाई गिज्याइरहेको स्पष्ट हुन्छ । 

पोखरीवरपर उत्तिकै झारपात उम्रेका छन् । कतिपय पोखरीको पर्खाल भत्केको छ अनि माटोको थुप्रोमा फोहोर डंगुर देख्न सकिन्छ । राजधानीका केही पोखरीमा लुगा धुने नुहाउने मात्रै होइन पौडी पनि खेलिन्छ । यस्तैखाले क्रियाकलाप र जनसंख्याको चापका कारण पोखरीहरु दुषित भइरहेका छन् । 

हुनतः काठमाडौंमा पोखरीमात्रै अव्यवस्थित छैनन्, सडक, पेटी, सवारी, पसल, मानिस वा भनौँ यो सम्पूर्ण शहर नै अव्यवस्थित बनेको छ । राज्यपक्ष, स्थानीय निकाय यसमा पुनःनिर्माण गर्न र व्यवस्थित बनाउन गफमा नै तल्लिन छन् ।

‘नजिकको तीर्थ हेला’ नेपालीमा रहेको यो प्रचलित उखान ठ्याक्कै काठमाडौंवासी र नेपाली राजनीतिक दलका नेतृत्वहरुलाई चरितार्थ हुन्छ । किनभने राजनीतिक दलका नेताहरु डाँडामा भ्यूटावर बनाउन पुग्छन् तर नजिकको सभ्यता, संस्कृति, पहिचान, कला र पर्यटकीय गन्तव्यहरुलाई बिर्सिएर अझ भनौँ आफैँमा रहेको वासनालाई कस्तुरीले खोज्दै हिँड्ने गरेझैँ त्यही बाटोमा अघि बढ्दैछन् । अझै हाम्रो सभ्यता, संस्कृति, पहिचान, कला जोगाउन नसके हामीले देशकै पहिचान जोगाउन सक्दैनौँ ।

इतिहास बोकेका सैरचना बचाउँदै, भत्केका र जीर्ण रहेका तालतलैया, पोखरीको मर्मतसम्भार गरेर आफ्नो पहिचान र शिक्षित वर्गको परिचय हामी शहरीवासीले नै दिनुपर्छ । किनभने प्राकृतिक स्थल मानिसको मात्रै हो भन्ने हुँदैन, त्यहाँ रहने भौतिक चराचर जीवजन्तुको पनि वासस्थान हो । 

त्यसैले अब वातावरणीय समस्याहरू कम गर्न सम्पूर्ण आम सरोकारवालाहरू पनि जागरुक हुनुपर्छ । प्रदुषित वातावरणले मानव स्वास्थ्य मात्र नभई सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रलाई नराम्रो असर पारिरहेको छ । 

मानवको समुन्नत भविष्य निर्माण पनि वातावरण संरक्षणसँग जोडिएको छ । हामिले आफ्नो अधिकार आफै हनन् गर्दै आएका छौँ । त्यसैले संविधानले नै दिएको स्वच्छ वातावरणमा बाँच्न पाउने हकका लागि सम्बन्धित सबैको ध्यान केन्द्रित हुनुपर्छ । भौतिक सुविधा तथा सेवाको उपलब्धताले मानव बसोवासको व्यापक दबाबमा परेको शहरी क्षेत्रको व्यवस्थित शहरीकरण गर्नुपर्ने आवश्यकता नेपालजस्ता विकासोन्मुख मुलुकमा छ ।

Advertisement

Advertisement