‘छ–छ महिनामा मन्त्री फेर्दै भागबन्डा गरेर खाने ? यो राज्य कसैको व्यक्तिगत सम्पति हो ?’

Advertisement

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सरकारले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोगाम (एमपीपी)मा सहभागी नहुने भनेर पत्राचार नगरेकोप्रति आपत्ति जनाएका छन् । सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारले एसपीपीमा सहभागी नहुने भनेर हालसम्म अमेरिकालाई पत्राचार नगरेको भन्दै आपत्ति जनाएका हुन् । 

रावलले अमेरिकाले नेपालले सम्झौता रद्ध गर्न सक्ने भनेर भनेको भए पनि सरकारले पत्राचार गर्न नसकेको बताए । उनले पत्र नपठाउनुको कारण के हो ? भनेर सरकारलाई प्रश्न समेत गरे । रावलले प्रधानसेनापति, परराष्ट्रमन्त्री, गृहमन्त्री र गठबन्धन दलका नेताहरुले समेत एसपीपीमा नेपाल सहभागी नहुने बताइरहँदा पनि पत्र नपठाएकोप्रति आशंका व्यक्त गरे । 

Advertisement

उनले भने, ‘अमेरिकी दूताबासले यदी नेपालले यो सदस्यता रद्द गर्ने हो भने गर्न सक्छ भनेर भनिराखेको छ । सार्वजनिक रुपमा भन्यो । तर बालुवाटारमा बैठक बसेर गठबन्धनका नेताहरु सर्वदलीय बैठक बोलाउने भन्ने कुराहरु भन्छन् भन्नेकुरा समाचार माध्यममा पढ्न पाइयो । साझेदारी कार्यक्रममा संलग्न हुने बेलामा सर्वदलीय बैठक चाहिएन । अनि यो नेपाल सैनिक अखडा हुन सक्दैन् । यो हिन्द प्रशान्त रणनीतिको अंग हुन सक्दैन भनेर नेपाली जनताले व्यापक रुपमा आवाज उठाउँदाखेरी, संसदले आवाज उठाउँदाखेरी सरकारका मन्त्रीहरु हामी सैनिक गठबन्धन नजान प्रतिवद्ध छौँ । हामी संलग्न हुँदैनौ भन्ने । त्यो पत्र पठाउन के ले रोक्यो ? यदी उहाँहरु आफ्नो भनाईप्रति इमान्दार हुनुहुन्छ भने अमेरिका स्वयम्ले यदी नेपाल यसको सदस्य हुन चाहाँदैन भने रद्द गर्न सक्छ भनिसकेपछि हामी हुन चाहादैनौं भनेर पत्र किन नपठाएको त ? कसले रोक्यो त ? प्रधानसेनापति हुनु हुँदैन भन्ने । परराष्ट्र मन्त्री हामी हुँदैनौ भन्ने । गृहमन्त्री संसदमा हुँदैनौ भन्ने । गठबन्धनका नेताहरु यो त हुनु हुँदैन भन्ने । अनि पत्र रोक्ने हात समात्न आएको को रहेछ त ?’

नेता रावलले आगामी निर्वाचनमा समान विचार, दर्शन र कार्यक्रम भएकाहरुसँग मात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिए । विपरित सिद्धान्त भएकाहरु बीचको गठबन्धन अनैतिक हुने उनको तर्क थियो । रावलले भने,  ‘आगामी निर्वाचनमा यदी नेपालको संविधानको सम्मान गर्ने हो भने समान विचार, समान कार्यक्रम भएकाहरुले मात्रै यस्तो लोकप्रिय मतको लागि एक भएर जानसक्ने हुन्छ । विपरित सिद्धान्त र विचार भएका मान्छेले लोकप्रिय मत मिलेर जान्छौँ भन्ने कुरा अनैतिक कुरा हो । निर्वाचन भइसकेपछि कुनै कार्यक्रम लागु गर्नका लागि गठबन्धन गर्ने कुरा त्यो हुन सक्छ । विभिन्न ठाउँमा हुन्छ । तर त्यसको लागि पनि सिद्धान्त, विचार र कार्यक्रममा सामिप्यता हुनुपर्छ । तर यहाँ त पदको लागि मिलेर खाने । छ–छ महिनामा मन्त्री हुने । तिन–तिन महिनामा भागबन्डा गरेर खाउँ । मानौँकी यो कसैको व्यक्तिगत सम्पति हो जस्तो यो राज्य । यस्तो भएको हुनाले मैले त समान विचार, समान दर्शन, समान कार्यक्रम भएकाहरु जहिल्यै पनि सँगै हिड्नुपर्छ । विपरित सिद्धान्त भएका जाने भनेको अनैतिक काम हो म भन्दै आएको छु । त्यसकारण आउने निर्वाचनलाई पनि त्यसरी नै हेर्नुपर्छ भन्ने मेरो धारणा छ ।’

उनले मिलेर पद बाँडफाँड गर्नका लागि सत्तारुढ गठबन्धन भएको टिप्पणी गरे । 

Advertisement

Advertisement