२०४६ पछि पहिलो पटक देउवाले प्रतिपक्षसँग सम्वन्ध तोडेः ओली

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको बताएका छन् । उनले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पुर्याएको गुनासो गरेका छन् । 

मंगलबार पूर्वराजदुतहरुको समूहले काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र मामिलाबारेको अन्तरक्रिया कार्यक्रममा ओलीले विदेश भ्रमण गर्दा समेत कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरुद्ध जाने खालका डेमोक्रेसीमा हुँदै नहुने गतिविधिहरुमा सरकार संलग्न भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । 

Advertisement

राष्ट्र र राष्ट्रियताको सवालमा, लोकतन्त्रको सवालमा कम्तीमा पनि दलहरुबीच राष्ट्रिय सहमतीका साथ अघि बढनुपर्ने अवस्थामा सरकारले त्यसो नगरिरहेको उनको भनाई थियो । ओलीले प्रधानमन्त्री अन्तर्राष्ट्रिय मञ्चहरुमा जाँदा, अन्य देशको भ्रमणमा जाँदा विगतमा प्रतिपक्षसँग, विज्ञहरुसँग छलफल हुने गरेको उल्लेख गर्दै वर्तमान सरकारले भने त्यो काम पनि गर्न नचाहेको बताए । 

उनले भने, ‘यो सरकार बनेपछि सिम्पली भन्ने हो भने संवाद छैन् । २०४६ सालपछि यस्तो संवादहिनता कुनै पनि विषयमा प्रतिपक्ष त कन्सिच्यूसन्नली प्रतिपक्ष हो नि । यो सँग कुनै परामर्श पनि नगर्ने र सबै कुरा गोप्य राखिने र प्रतिपक्षका विरुद्ध जाने खालका कुराहरु यस्तो डेमेक्रेसीमा हुँदैन् । यो संवादहिनताको स्थिति अरु धेरै कुराहरु म भन्न चाहन्न । त्यसकारण तपाईंहरुले जे कुरा उठाउनु भएको छ, त्यसमा खाली शब्दमा मात्रै होईन सहमती, यसको रुटकस कहाँनिर हो ? सहमती किन बनिराखेको छैन् ? किन संवाद भइराखेको छैन ?’ 

ओलीले थपे, ‘जस्तो प्रधानमन्त्री बाहिर जानुभन्दा अगाडि त प्रतिपक्षसँग त परामर्श हुन्थ्यो नै । त्यो त अनिवार्य नै कुरा हो । प्रतिपक्ष भनेको एउटा बैकल्पिक सरकार हो । सरकारमा जानका लागि तयारी शक्ति हो भनेर मानिन्छ । त्योसँग त परामर्श गर्नु पर्छ नै । साथसाथै विज्ञहरुसँग परामर्श गर्ने हाम्रो चलन थियो । हामी जहिले पनि प्रधानमन्त्री बाहिर जान्छ भने यूएनमा जानुभन्दा अगाडि, अरु त्यस्तो फोरमहरुमा जानुभन्दा अगाडि अथवा कुनै देशको भ्रमण गर्नु भन्दा अगाडि किन जाँदैछ ? त्यहाँ गएर के गर्छ ? भन्ने कुरामा छलफल गरिन्थ्यो र कसरी जाँऊ, के के गरौं भनेर परामर्श गरिन्थ्यो । यसो भएको छैन यो एउटा अलि गम्भीर कुरा हो । तर यो मेरो डिमान्ड होइन । नगरी चलाउनु हुन्छ भने चलाउनुस । लोकतन्त्रमा, प्रजातन्त्रमा सहमतीको नयाँ डेफिनेशन गर्नु हुन्छ भने ठिक छ ।’

सरकारले प्रतिपक्षसँग कुनै परामर्श नगरेकोमा आफ्नो गुनासो भने नरहेको उनको भनाई छ । ओलीले लोकतन्त्रमा, प्रजातन्त्रमा सहमतीको नयाँ डेफिनेशन गर्नु हुन्छ भने प्रतिपक्षसँग परामर्श नगरी सरकार चलाए हुने बताए । 

Advertisement

Advertisement