कांग्रेस सत्तामा हुँदैमा विराटनगरमा गिरिजाप्रसादको नाममा संग्रहालय बनाउन छोरी सुजाताको माग

Advertisement

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेकी छन् । गिरिजाप्रसाद उनका बाबु पनि हुन् । 

मंगलवार नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको कार्यक्रममा सुजाताले स्वर्गीय गिरिजाप्रसादको शालिक अनावरण कार्यक्रममा विराटनगरको जुटमिलमा रहेको १४ कठ्ठामा बनेको भवनलाई गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन माग गरेकी हुन् । 

Advertisement

उनले उक्त भवनमा अहिले पनि ऐतिहासिक सामग्रीहरु रहेको उल्लेख गर्दै त्यसलाई संग्रहालय बनाउन आवश्यक रहेको बताइन् । सुजाताले संग्रहालय बनाउनसके नेपाली काँग्रेसका लागि ठूलो इतिहास बन्ने दाबी गरिन् । 

उनले भनिन्, ‘जुटमिलमा एउटा १४ कठ्ठाको बिल्डिङ छ त्यसलाई म्यूजियमको रुपमा बनाऔँ । त्यहाँ यस्ता सामग्रीहरु छन्, जुन आज कसैले पनि कतै ती सामग्री पाउनुहुन्न । विदेशबाट त्यो बेलामा ल्याएको सामग्री अहिलेसम्म त्यहाँ यथावत छ । हामीले म्यूजियम बनायौँ भने यो नेपाली काँग्रेसको एउटा ठूलो इतिहास बन्नसक्छ । अहिले प्रधानमन्त्री नेपाली काँग्रेसको हुनुहुन्छ, उहाँले त्यसलाई संग्रहालयको रुपमा अघि बढाउनु हुनेछ भन्ने चाहना छ । ऐतिहासिक सामग्रीहरु छन् । यसलाई छिटोभन्दा छिटो अघि बढाउँ ।’

सुजाताले नेपाली काँग्रेसबाट प्रधानमन्त्री भइरहेको यो बेलामा संग्रहालय बनाउन सहज हुने र सरकारले सहयोग गर्नेमा आशावादी रहेको बताइन् । गिरिजाप्रसादलाई धेरै कांग्रेसीले कांग्रेस सिध्याउने  र मुलुकलाई अधोगतितिर लाने खलपात्रको रुपमा हेरे पनि एउटा समूहले उनलाई महान नेताको रुपमा चित्रण गर्दै अझै पनि तारिफ गर्छन् । 
 

Advertisement

Advertisement