माओवादी द्वन्द्व एमाले, काँग्रेसका कार्यकर्ता र सेना प्रहरी मारेर चाँडै सत्तामा पुग्न थियोः ओली

Advertisement

काठमाडों । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान पाँच दलीय गठबन्धन सरकार अविलम्व हट्नुपर्ने बताएका छन् । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले देशको चाबी लिएरै ढुकुटी लुट्ने काम गठबन्धनको सरकारले गरेको आरोप लगाए । 

अध्यक्ष ओलीले अन्य सरकार भएको भए अहिलेसम्म मैनबत्ती झैं पग्लिएर सरकारबाट हटिसकेको हुने भएपनि अहिलेको सरकार तमासा देखाएर बसेको बताए । उनले गठबन्धनको सरकारलाई अब स्वीकार्न नसकिने उल्लेख गर्दै गठबन्धन सरकार नराम्रा कामहरुको थुप्रो भएको बताए । ओलीले गठबन्धन सरकार नालायक र भ्रष्ट रहेको भन्दै सरकार आफैँ नहटे जनताले टिपेर मिल्काउनुपर्ने बताए । 

Advertisement

ओलीले नेपाली काँग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवामा गलत गर्नेलाई कारबाही गर्ने हुत्ती नरहेको बताए । उनले अर्थमन्त्री जनार्दन शर्माले आफैँ राजीनामा दिएको तर राजीनामा नदिएको भए पनि कारबाही गर्ने आँट प्रधानमन्त्रीमा नरहेको बताए । ओलीले माओवादीले अनुपयक्त समयमा हतियार उठाएकै कारण हजारौं युवाशक्ति विदेश जानुपर्ने बाध्यता सिर्जना भएको बताए । 

उनले भने, ‘यो सरकारको के काम ? लाज छैन् । मल दिन सकेको छैन ? देशको अर्थतन्त्र यस्तो बनाएको छ । देशको साँचो लिएरै ढुकुटीमा गएर लुट्ने । यो सरकारको काम छैन । यो सरकार अविलम्व हट्नुपर्छ । अरु सरकार भएको भए मैन पग्लिए झैँ सकिन्थ्यो । यो केही लाज नै छैन । अब अतिभन्दा पनि नाघ्यो । अब यो सरकार स्वीकार्य हुन सक्दैन । चुनावमा धाँदली, लुट हुन्छ । मतदातालाई कुटेर लखेट्छ । हरेकतिर विकासका आयोजनाहरु सबै कटौती गरेको छ । राम्रो एउटा छैन । सबै नराम्रा । यो सरकार नराम्रा कामको थुप्रो हो । एक वर्षमा एउटा राम्रा काम गरेन । यो सरकार नालायक, भ्रष्ट, अनैतिक छ । सरकारमा एकछिन पनि बस्न नमिल्ने, नहुने छ । यो सरकार हट्दैन भने जनताले टिपेर मिल्काउनु पर्छ । काँग्रेस त निरीह अब बोल्नै नसक्ने ? मन्त्रीले जस्तो गरे पनि काँग्रेस त हरेको हेर्यै । काँग्रेससँग केही कदम चाल्ने दम र हुत्ती नै छैन । विचारै छैन । मन्त्रीले अहिले पनि राजीनामा दिएर हो नत्र भने प्रधानमन्त्रलिे निकाल्छन् भन्ने त प्रधानमन्त्रीसँग कुनै  मन्त्रीलाई कारबाही गर्ने निकाल्ने हुत्ती छ ? प्रचण्डका सपना के थिए ? अहिले छरपस्ट देखिएका छन् । प्रचण्डको त्यही अनावश्यक समयमा हतियार उठाउनाले देशका युवा खाडी जाने अवस्था सिर्जना भयो ।’

अध्यक्ष ओलीले प्रचण्ड पथ भनेको देशलाई भड्खारोमा लाने पथ भएको आरोप लगाए । उनले मन्त्रालयमा सचिवले बजेट बनाउन नपाउने तर व्यापारीका मान्छे ल्याएर करका दर र अन्तः शुल्क तय हुनु देश गम्भीर संकटतर्फ उन्मुख भएको प्रमाण रहेको बताए । अध्यक्ष ओलीले शान्त वातावरणमा देश चलाउनसक्ने प्रमाणित एमालेले गरिसकेको बेलामा माओवादी भन्दै हतियार उठाउनुको तुक नरहेको जिकिर गरे । 

उनले माओवादी सशस्त्र द्वन्द्व केही सिमित व्यक्तिहरुको चाहनापूर्तिका लागि मात्रै लडिएको दाबी गरे । ओलीले १० वर्षे सशस्त्र द्वन्द्व भनेर हतियार उठाउनुको खास कारण के हो भन्दै प्रश्नसमेत गरे । ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका राजनीतिक कार्यकर्ता मार्नका लागि हतियार उठाएको आरोप लगाए । अध्यक्ष दाहालले सशस्त्र द्वन्द्वको बेलामा उठाएका हतियारको खास कारण के थियो त्यसको उत्तर दिन उनले चुनौती दिए । 

पेरुका माओवादीले ३५ हजार आफ्नै कार्यकर्ता मारेर आन्दोलन स्थगित गरेको उल्लेख गर्दै ओलीले  नेपालका माओवादीले भने एमाले, काँग्रेस र कम्युनिष्ट तथा प्रहरी र सेनाहरु मारेको बताए । उनले माओवादीको सशस्त्र द्वन्द्वको लक्ष्य छोटो बाटोबाट चाँडै सरकारमा पुग्ने लक्ष्यमात्र भएको दाबी गरे । 

अध्यक्ष ओलीले भने, ‘प्रचण्ड पथ भनेको देशलाई भड्खारोमा लाने पथ हो । प्रचण्ड बुद्धिले मात्रै यस्तो अपराध गर्नसक्छ । यस्ताहरुको बहकावमा अहिले सरकार चलेको छ । दुनियाँमा नभएको तमासा भएको छ । सचिवले बजेट बनाउन पाउँदैन । व्यापारीका मान्छे ल्याएर करका दर र अन्तः शुल्क तय हुन्छ । देश लुट्ने काम यो भन्दा खुलेआम के हुनसक्छ । लाज शर्म छैन, उल्टै रोष्टममा मेरो बिरुद्धमा यस्तो भयो, देखौला हेरौँला रे ? केपी ओलीको कारण राजीनामा रे ? मैले राजीनामा मागेको छैन । छानिबन गर्नुपर्छ भनेको हो । शान्त वातावरणमा पनि सरका चलाउन सकिन्छ भन्ने कुरा नेकपा एमालेले सरकार चलाएर देखाइसकेपछि माओवादीले  हतियार उठायो । केका लागि हतियार उठायो ? माग के थिए माओवादीका ? माग थिए एउटा गोलमेच सम्मेलन । गोलेमेल सम्मेलन भनेको त्यतिबेला राजतन्त्र थियो, राजतन्त्रसहितको गोलमेल सम्मेलन हुनेभयो । सर्वपक्षीय गोलेमेल सम्मेलन एउटा माग । दोस्रो माग थियो, सर्वपक्षीय, सर्वदलीय सरकार ।  आफू पनि बस्ने र राजा पक्षका पनि सबै रहेर त्यस्तो सर्वपक्षीय सरकार । तेस्रो संविधान सभा । संविधान सभाको माग गर्नका लागि हतियार उठाउनु पर्छ र ? माओवादीले केका लागि हतियार उठाएको थियो ? मैले त्यस बेलादेखि सोध्दै आएँ । अहिलेसम्म माओवादीे जवाफ दिन सकेको छैन ।’ 

उनले थपे, ‘प्रचण्डले आजको कुरा सुनेर भोलि, पर्सी जवाफ दिए हुन्छ । केका लागि हतियार उठाएको हो ? कार्यकर्ता त कम्युनिष्ट, एमाले, काँग्रेसका मारिएका थिए । यही कुरा पेरुमा भएको थियो । पेरुका माओवादीले ३५ हजार कम्युनिष्ट कार्यकर्ता मारेको थियो । त्यसपछि आन्दोलन समाप्त भयो । त्यहाँका प्रचण्डहरुले गरेको त्यही थियो । यहाँका प्रचण्डहरुले सेना प्रहरी र हाम्रा साथीहरु मारे । किन मारिए ? राज्य सत्ता त होइनन् हाम्रा साथीहरु ? के प्राप्त गरेर छोडे त सशस्त्र जनयुद्ध ? महान जनयुद्ध भनेर माओवादीले भनेको, के भएर छोडे त ? के पाएर छोडे ? बहुदलीय व्यवस्था, विघटित संसदको पुनः स्थापना ? त्यसका लागि १७ हजार मान्छे मार्नुपर्छ ? त्यसकारण माओवादीको उद्देश्य अर्कै थियो । छोटो बाटोबाट सरकारमा पुग्ने, अस्थिरता नेपालमा सिर्जना गर्ने, देशको नभइ अरुको भलाइ गर्ने, उनीहरु त्यो भन्न सक्दैनन् । तर राजतन्त्रसँग कार्यगत एकता थियो भन्ने त सुनेका छौँ ।’

अध्यक्ष ओलीले जनयुद्धका नाममा माओवादीले गरेको हिंसा जनयुद्ध नभएको दाबी गरे । उनले निहीत स्वार्थका लागि र केही व्यक्तिको स्वार्थका लागि, कसैको इसारामा, कतैको योजनामा, नेपाली जनताको जीवनमाथि खेलवाड गर्न नेपालमा सशस्त्र द्वन्द्वको नाममा माओवादीले जनहीत विपरितका काम गरेको बताए । 

ओलीले माओवादीले शान्ति प्रक्रियामा आइ हतियारको प्रयोग छोडेँ भनिसकेपछि पनि नेकपा एमालेका तत्कालीन कार्यकर्ता छवि कार्कीको अमानवीय ढंगले हत्या गरेको उल्लेख गरे । उनले २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रले गरेको घोषणा सर्वदलीय स्वीकृतीमा पार्टीले तयार पारेको ड्राफ्ट भएको र पार्टी कार्यालय बल्खुमा बसेर आफैँले उक्त ड्राफ्ट तयार गरेको दाबी गरे । 

Advertisement

Advertisement