चिनियाँ नेता नेपाल आएको बेला ओलीले भने– यो सरकारलाई अब बोक्न सकिन्न, बोके हैजा फैलिन्छ

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई बोकिरहन नसकिने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आएको बेला उनले अहिलेको सरकारलाई बोकिरहन नसकिने बताएका हुन् । 

सोमबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकार देशका लागि निष्प्राण र हानिकारक दुवै भएकाले यसलाई बोकेर हिँडन नसकिने बताएका हुन् । ओलीले सरकार चलेन, काम लागेन भन्ने स्पष्ट भईसकेको भन्दै यसलाई बोकिरहन उपयुक्त नहुने बताए । 

Advertisement

सरकार र सत्तारुढ गठबन्धन देशका लागि मृत भईसकेकाले यसलाई कायम राखेर गए देशमा हैजा फैल्याउने ओलीको तर्क थियो । उनले सरकारका सबै अंगप्रत्यङ्ग झर्न लागेको र अर्थमन्त्री जनार्दन शर्माको राजीनामा त्यसैको दृष्टान्त भएको बताए । 

सबै अंगप्रत्यङ्ग काम नलागेकी सतीदेवीलाई भगवान शिवले समेत बचाउन नसकेको स्मरण गर्दै ओलीले वर्तमान सत्तारुढ गठबन्धन र सरकारको हालत पनि त्यही भएको बताए । उनले मुलुक संसद र प्रदेशको निर्वाचनमा प्रवेश गरिसकेकाले पनि परमादेशी वर्तमान सरकारको कुनै औचित्य नभएको बताए । 

ओलीले भने, ‘अव यो गठबन्धनको सरकार चाहीं चलेन, काम लागेन भन्ने स्पष्ट भयो । र, यसैलाई बोकिरहन चाहीं अब उपयुक्त हुँदैन । यही सरकार बोकेर हिँडनु, एउटा हदसम्म बोक्नु पर्छ । तर निष्प्राण भयो । त्यो हानिकारक छैन भने पनि बोक्नु हुँदैन । हानिकारक छ भने झन बोक्नु हुँदैन । यो त निष्प्राण पनि भईसक्यो र हानिकारक छ । यसले हैजा फैलाउँछ । यसले समाजलाई दुषित गर्छ । प्रयोजन सिद्धिसकेपछि जीवन्त नभईसकेपछि मरेको चिज बोकेर हिँडदाखेरी यो डेथ भईसक्यो गठबन्धन । देशका लागि यो मृत भईसक्यो ।’

अध्यक्ष ओलीले आफ्नो पार्टीले चाहेको भए सत्तारुढ गठबन्धन उहिलेनै टुटिसकेको हुने दावी समेत गरे । उनले गठबन्धनलाई नक्कली विहेको संज्ञा दिँदै त्यसो गरेर साँचो डिभोर्स गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पटकपटक दोहोर्याए । सरकार मुलुकलाई श्रीलंकामा जस्तै संकटतर्फ लैजान केन्द्रित भएको आरोप समेत लगाए । 

Advertisement

Advertisement