दलहरुप्रति जनताको घृणा र नेताहरुलाई गाली गर्ने क्रम बढेकोमा ओली चिन्तित

Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले दलहरुप्रति घृणाभाव फैल्याउने प्रयास भईरहेको भन्दै असन्तुष्टि पोखेका छन् । उनले स्थानीय निर्वाचनमा उठेका स्वतन्त्र उम्मेदवारप्रति लक्षित गर्दै जान्ने हुनका लागि, ठूलो हुनका लागि पनि राजनीतिक दलहरु र नेताहरुलाई गाली गर्ने प्रवृत्ति बढेको बताएका छन् ।  

मानव अधिकार एलाइन्सले बुधबार आयोजना गरेको कार्यक्रममा ओलीले दलीय प्रणालीको औचित्य, आवश्यकता र अपरिहार्यता आज झन बढेर गएको दावी गरे । उनले मानव अधिकारको रक्षाका लागि दलहरुको संगठित शक्ति अपरिहार्य रहेको बताए । ओलीले दलहरुभन्दा व्यक्ति निष्पक्ष हुन्छन भन्ने धारणा सही नभएको पनि तकृ गरे । 

Advertisement

उनले भने, ‘डमोक्रेटिक सिष्टममा राजनीतिक दलहरुको मुख्य भूमिका हुन्छ । कहिलेकहिले कोही कोही स्वतन्त्र फाट्टफुट्ट पालिकासालिका वडाहरु छानिनु बेग्लै कुरा हो । तर दलीय प्रणाली, दलहरुको औचित्य, आवश्यकता र अपरिहार्यता आजको विश्वले स्वीकारेको चिज हो । अपरिहार्यता स्वीकारेको चिज हो । र, दलहरुको योगदान आज एउटा ट्रेन्ट चलेको छ– अलिकति चलाउन खोजिएको छ संगठित ढंगले नेपालमा । दलहरुको योगदान, इतिहासमा उनीहरुले जुन ढंगले भूमिका खेले, सामाजिक जागरणका लागि जुन भूमिका खेले, जुन बलिदानपूर्ण संघर्ष गरे, लामो त्यागपूर्ण संघर्ष गरे, कष्टपूर्ण संघर्ष गरे र समाजमा जागरण ल्याए । संगठित प्रयास गरे । परिवर्तन ल्याए । रुपान्तरण ल्याए । अगाडि बढाए समाजलाई । त्यसपछि सम्मान नगर्ने, घृणा भाव फैल्याउने । त्यो प्रवृत्ति अहिले बढाइएको छ । अहिले सबभन्दा जान्ने हुनका लागि, निष्पक्ष हुनका लागि, ठूलो हुनका लागि, अरुभन्दा पृथक हुनका लागि राजनीतिक दल र नेतालाई गाली गर्नुपर्छ । अनि त्यो व्यक्ति चाँही अलिकति निष्पक्ष, तटस्थ भन्ने ठानिनेखालको स्थितिको एउटा यस्तो इम्प्रेषण दिन खोजिएको छ । त्यो कुरा साँचो होइन । त्यो सही होइन ।’

अध्यक्ष ओलीले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारलाई विशुद्ध र अशुद्ध ठान्न नहुने टिप्पणी पनि गरे । मानव अधिकार विशुद्ध र अशुद्ध अनि आंशिक र पूर्ण नहुने तर्क गर्दै उनले त्यस्तो भ्रान्तिमा नपर्न राष्ट्रिय मानव अधिकार आयोगलाई सचेत समेत गराए । मानव अधिकार एलाइन्सले आयोजना गरेको कार्यक्रममा मानव अधिकार आयोगका कुनै पनि सदस्यहरु उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गर्दै ओलीले आफूलाई सुनपानीले धोएको पवित्र मानव अधिकारवादी र हामीलाई मानव अधिकार उलंघनकर्ता ठान्ने भूल नगर्न पनि चुनौति दिए । 

गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय सम्हाल्दा समेत आफ्नो राजनीतिक जीवनका ५७ वर्षमा कहिल्यै पनि मानव अधिकार उलंघन नगरेको ओलीको दावी थियो । उनले आफूले मानव अधिकारको उलंघन अहिलेसम्म नगरेको र अव पनि नगर्ने बताए । ओलीले मानव अधिकारलाई राजनीतिक नियुक्तीको कार्यकाल, जागिरको रुपमा नलिई आर्दश, निष्ठा, यात्रा र गन्तव्यको रुपमा आफूले लिएको जिकिर गरे । ओलीले राजनीति विकृत भए मानव अधिकारको उलंघनको घटना बढेर जाने बताए । 

Advertisement

Advertisement