भारतीय राजदूतसँग पर्यटनमन्त्रीले गौतमवुद्ध विमानस्थलका लागि नयाँ प्रवेश विन्दुको कुरा उठाए

Advertisement

काठमाडौं । गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा संचालनका लागि नयाँ हवाई प्रवेश विन्दु उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले जीवनराम श्रेष्ठले भारतीय राजदूत नवीन श्रीवास्तवसँग आग्रह गरेका छन् । 

मन्त्री श्रेष्ठलाई भेट्न शुक्रबार राजदूत श्रीवास्तव पर्यटन मन्त्रालय पुगेका थिए । उनले  नयाँ हवाई प्रवेश विन्दु उपलब्ध भएमा उडान खर्च र समय घट्नुका साथै हवाई ट्राफिक जामको समस्या समाधान हुने बताएका थिए । भारतले नेपालको सिमराबाट मात्रै विदेशी उडानहरुलाई प्रवेशको अनुमति दिँदै आएकोमा अरु प्रवेश विन्दु उपलब्ध गराउन नेपाली पक्षले पटक पटक आग्रह गर्दै आए पनि भारतीय पक्षले कुनै सुनुवाई गरेको छ । केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउँदा गौतमवद्ध विमानस्थलमा अवतरण नगर्नेगरी हेलिकप्टर लिएर आएका थिए । 

Advertisement

भेटमा भगवान राम र सीतासँग जोडिएका धार्मिक स्थलहरुलाई जोड्ने रामायण सर्किटसम्वन्धी पूर्वाधार निर्माण अघि बढाउने, भूकम्पबाट क्षति भएका संरचना पुनर्निमाणमा भारतीय सहयोगमा संचालित परियोजना, जनकपुरको धार्मिक तथा पौराणिक महत्व झल्काउँदै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा समझदारी भएको बृहत्तर जनकपुर क्षेत्र विकास सम्वन्धी परियोजना अघि बढाउन, कोरोना भाइरस महामारीपछि सरकारले पर्यटन क्षेत्रको पुनउत्थानलाई प्राथमिकता दिएको र नेपालमा भारतीय पर्यटकहरुको आगमन वृद्धिका लागि गर्नुपर्ने प्रवर्द्धनात्मक कार्यक्रमबारे कुराकानी भएको मन्त्रालयले जनाएको छ । 

राजदुत श्रीवास्तवले नयाँ हवाई प्रवेश विन्दुको विषयमा छिट्टै निर्णयमा पुग्ने बताएका थिए । 

Advertisement

Advertisement