नेतामा भिजन र त्याग नभएकाले नेपाल समृद्ध हुन सकेनः मन्त्री चौधरी

Advertisement

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले नेतामा भिजन र त्याग नभएकाले नेपाल समृद्ध हुन नसकेको अर्थात् नेपाल पछि परेको बताएका छन् । 

नेपाल नगरपालिका संघले आइतबार होटल र्याडिसनमा नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा नगरप्रमुख, उपप्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतहरुका लागि अभिमुखिकरण र संघको बाग्मती प्रदेश तदर्थ समिति गठन कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् । 

Advertisement

सो अवसरमा मन्त्री चौधरीले स्थानीय सरकार जनतासँग प्रत्यक्ष सम्पर्क राख्ने निकाय भएको हुनाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी स्थानीय जनप्रतिनिधिहरुको काँधमा आएको औल्याए । 

निर्वाचित प्रतिनिधिहरुले जनताप्रति जवाफदेही भएर काम गर्नुपर्ने भन्दै उनले स्थानीय सरकारका जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रको विकास निर्माण कार्यमा जुट्नुपर्ने र जनतालाई सरकारको महसुस गराउनुपर्ने आवश्यकतामा जोड दिन सुझाए ।  

हालै सम्पन्न स्थानीय निकायको निर्वाचनमा विभिन्न निकायहरुमा स्वतन्त्र उम्मेदवारहरुले विजय हासिल गर्नु राजनैतिक पार्टीहरुको निम्ति चुनौती भएको विचार पनि व्यक्त गर्दै उनले स्थानीय निकायका प्रतिनिधिहरुले आफू र आफ्ना निकायलाई कसरी समृद्ध बनाउने हो भन्ने तिर सोच्नु पर्ने आवश्यकता भएको बताए । उनले पैसा कमाउने र सत्ताको स्वाद लिनेतर्फ आफ्नो ध्यान केन्द्रित नगर्न जनप्रतिनिधिहरुलाई सल्लाह दिएका छन् । 

जनताको अपेक्षा अनुरुप जनप्रतिनिधिहरुले काम गर्न नसके जनताले यस व्यवस्थाको विकल्प खोज्न सक्ने खतरा रहेको उनले प्रष्ट्याएका छन् । उनले राजनैतिक नेतृत्ववर्गमा भिजनको कमी, लगनशीलता र त्यागको कमीले गर्दा पनि देश समृद्धबाट पछि परेको बताए ।  

सो अवसरमा नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले स्थानीय सरकारले आफ्नो क्षेत्रमा प्राप्त भएको करको न्यायपूर्ण हिस्सा प्राप्त गर्नुपर्ने कुरामा जोड दिंदै स्थानीय निकायलाई विकास निर्माण कार्यका निम्ति केन्द्र सरकारले पर्याप्त बजेट छुट्याउनु पर्ने बताएका थिए । 

Advertisement

Advertisement