चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु जम्बो टोली लिएर नेपाल आइपुगे, सापकोटासँग भेटघाट सम्पन्न

Advertisement

काठमाडौं । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु चारदिने भ्रमणको लागि काठमाडौं आइपुगेका छन् । उनले ६७ जनाको जम्बो टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन् । 

सभामुख अग्नि सापकोटाको निम्तोमा आएका ली साढे ३ बजे त्रिभूवन विमानस्थलमा अवतरण गरेका थिए । चिनियाँ विशेष विमानबाट नेपाल भ्रमणमा आएका लीलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए । 

Advertisement

भदौ २९ गतेसम्म नेपाल भ्रमणमा रहुने लीले मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग भेट गर्ने कार्यक्रम छ । बुधवार राष्ट्रपति विद्या भण्डारीसँग भेट गर्ने जनाइएको छ भने नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम छ । 

चुनावको मिति नजिकिँदै गर्दा चीनबाट नेताहरु नेपाल भ्रमणमा आएका हुन् । यसअघि गत असार महिनामा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ झियान्छाओ र गत चैतमा विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका थिए । इण्डियन र अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको बेला चिनियाँ उच्च अधिकारीहरु नेपाल आउने क्रम बढेर गएको छ । लीले सभामुख सापकोटासँग भेटवार्ता गरेका छन् । 

Advertisement

Advertisement