चुनाव नजिकिएपछि प्रकाशमानको प्रतिवद्धता– वागमती किनारका बस्तीको समस्या समाधान खोज्छु

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वागमती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको बताएका छन् । संसदीय चुनावको मिति नजिकिएपछि उनले नदी किनारका बस्तीको बारेमा बोलेका हुन् । 

बिहीवार सार्वजनिक सुनुवाई कार्यक्रममा सिंहले काठमाडौं जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने बताए । उनले वागमती नदीको किनारका बस्तीहरुको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गर्ने गरेर अघि बढ्ने बताए । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अनधिकृतरुपमा नदी निकारका बस्तीहरु चाँडै हटाउने अनुमान गरिएको बेला प्रकाशमान सिंहले यस विषयमा बोलेका हुन् । वागमती नदि किनारमा सुकुम्बासीको नाममा बस्नेहरु मात्रै नभई २०२२ सालको नापीविपरित भूमाफिया र मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा हजारौं रोपनी जग्गा अतिक्रमण गरी घरहरु निर्माण गर्ने काम भएको छ । 

Advertisement

नेता सिंहले तत्कालीन नेकपाको सरकारले कानून समयमा नबनाइदिएको कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेको बताए । उनले तत्कालीन नेकपाको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसदलाई दुई पटक भंग गरेको कारणले संविधानलाई जोगाउनको लागि गठबन्धनको सरकार बनेको सिंहको जिकिर छ । 

उनले गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको भन्दै आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरुले विकास गर्ने पार्टी र नेताहरुलाई मतदान गरेर जिताउनुपर्ने तर्क गरे । 

कार्यक्रममा सरोकारवाला निकायहरु र आम सर्वसाधारणहरुले खानेपानी सम्बन्धी समस्याको उचित व्यवस्थापन गर्न माग गरेका थिए । उनीहरुले चुनाव आएपछि मात्रै सार्वजनिक सुनुवाई कार्यक्रम गर्नु भनेको औपचारिकता जस्तो भएको गुनासो गरे । उनीहरुले ढल व्यवस्थापन र फोहोरको व्यवस्थापन राम्रोसँग हुन नसकेको भन्दै आक्रोश पोखेका थिए । 
 

Advertisement

Advertisement