सरकार आफूले खनेको खाल्डोमा आफैं पर्योः ओली, जबरालाई सफाइ पनि दिने, नजरबन्द पनि गर्ने ?

Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सत्तापक्षले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबिरुद्धको महाअभियोगमा सफाइ दिएको टिप्पणी गरेका छन् । 

आईतवार ओली निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानन्यायाधीश जबरामाथि लागेको महाअभियोगमाथि सत्तापक्षले सफाइ दिएको तर्क गरेका हुन् । उनले महाअभियोग प्रस्ताव पारित नभई संसदको कार्यकाल सकिएकाले प्रधानन्यायाधीशले सफाइ पाएको बताए ।

Advertisement

सत्तापक्ष आफूले खनेको खाल्डोमा आफै परेकाले प्रधानन्यायाधीशले सफाइ पाएको ओलीको भनाई छ ।  उनले भने, ‘यो संसदको कार्यकाल नै सिद्धियो । यसो भइसकेपछि त्यो महाअभियोगको प्रस्ताव पारित भएन । दर्ता भयो र पारित भएन भने त्यो पारित भएन भनेपछि त कुरा सिद्धियो, त्यसमा सत्तापक्षले उहाँलाई सफाइ दियो । विलम्व गरेर सफाइ दियो । प्रक्रिया अगाडी नबढाएर सफाइ दियो । आफूले खनेको खाल्डोमा आफैँ परेर सफाइ दियो । अथवा आफैँले थापेको पासोमा आफैँ परेर सफाइ दियो त्यो ऊ जानोस् । सफाइ त दियो । अथवा पारित गरेन ।’

उनले सरकारले सर्वोच्च अदालतमाथि गोलाबारी गरेको आरोप लगाए । संसदीय प्रक्रियाको निश्चित अवधि हुने भन्दै ओलीले आगामी संसदमा पनि सभामुखले महाअभियोग प्रस्ताव घर्रामा राखे भने के हुन्छ ? भन्ने प्रश्न गरे । 

उनले सरकारले सेना, प्रहरी हातमा लिएर मानिसको घर घेर्न र नजरबन्दमा राख्न नपाउने बताए । ओलीले भने,  ‘अर्को संसदको सभामुखले पनि घर्रामा राख्यो भने ? फेरि अर्कोले गर्ने ? तीन महिनाभित्र यो प्रश्न टुंग्याउनुपर्छ । यो सधैँ जिन्दगीभरी चलाउने विषय होइन । कार्यकाल हुन्छ । अवधि हुन्छ । कुनै पनि संसदीय प्रक्रियाको अवधि हुन्छ । प्रस्तावहरु कहिलेसम्ममा टुंग्याउने भन्ने अवधि हुन्छ । यसको कानूनी व्यवस्था छ । अनि सत्तामा पुगेर सेना, प्रहरी हातमा लिएर जे पनि गरे हुन्छ ? अब मान्छेको घर घेर्ने । नजरबन्द बनाउने । यस्तो तमासा लोकतन्त्रमा ? अभियोग पुष्टि भएन प्रधानन्यायाधीशले के गर्ने त ? सरकारले पुष्टि गर्नुपर्ने, गरेन । बोरिस एल्सिनले रुसमा संसदमाथि गोलाबारी गरेको थियो । अब यस्ता बोरिस एल्सिनहरुसँग संसदका कुरा के गर्ने ? अदालतका कुरा के गर्ने ? स्वतन्त्र न्यायालयको कुरा के गर्ने ? लोकतन्त्रका कुरा के गर्ने ? कानूनी राजका कुरा के गर्ने ? यिनीहरु त बोरिस एल्सिन जस्ता । यो त सर्वोच्च अदालतमाथि लगातार हानेको गोलाबारी नै हो नि यो ।’

ओलीले सरकारले गैरजिम्मेवार क्रियाकलाप गरिरहेको भन्दै आफूहरुले त्यसको बिरोध गर्ने बताए । उनले लोकतान्त्रिक मूल्यमान्यता र शक्ति पृथकिकरणको सिद्धान्त अनुसार शासन सत्ता चल्नुपर्ने बताए । 

Advertisement

Advertisement