‘होली वाइन’ भनेर चिनिएका एकनाथ ढकालको साँसद पद सुनिश्चित गर्ने, मलाई चाहिं टिकट खोई ?

Advertisement

काठमाडौं । राष्ट्रियताका पक्षमा संसददेखि सार्वजनिक फोरमहरुमा आवाज उठाउँदै आएका नेकपा एमालेका नेता भीम रावलले पार्टीले षड्यन्त्रपूर्वक आफूलाई उम्मेदवार नबनाएको आरोप लगाएका छन् । 

बिहीबार पत्रकार सम्मेलन गरेर उनले आफूलाई कसैले पनि हराउन नसक्ने देखेपछि टिकट नदिइएको बताएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि रावलको नाम अछामबाट एकलरुपमा सिफारिस भएर आए पनि एमाले अध्यक्ष केपी ओलीले उनलाई टिकट दिन अस्वीकार गरेका हुन् । उनी पछिल्लो समयमा अछाममा मात्रै नभएर राष्ट्रियस्तरमा लोकप्रिय नेताको रुपमा चिनिएका थिए । 

Advertisement

पत्रकार सम्मेलनमा रावलले आफूलाई हराउन नसक्ने भएपछि पार्टीले सिफारिस नै नभएका व्यक्तिलाई षड्यन्त्रपूर्वक स्वेच्छाचारी निर्णय गरेर आफूलाई टिकट नदिइएको बताए । उनले कुनै पनि व्यक्ति कुनै पनि पद वा जिम्मेवारीमा सधैँ नरहने शास्वत सत्य रहेको उल्लेख गर्दै उम्मेदवार हुने वा नहुने वा कुनै पदमा पुग्ने, नपुग्ने विषयलाई आफूले प्रमुख नठानेको बताए । 

रावलले देश र जनताको हीत एवं पार्टीको सिद्धान्त, विधि, पद्धति, नीति र मान्यताको अवज्ञा भएको बताउँदै एकल सिफारिसमा पर्दासमेत आफूसँग कुनै छलफल नगरी एमालेका निम्ति कुनै योगदान नगरेको सिफारिस नै नभएको व्यक्तिको लागि पार्टी पंक्तिले गरेको निर्णय प्रथम दृष्टिमा नै स्वेच्छाचारी, अन्यायपूर्ण र गलत रहेको गुनासो गरे । 

उनले पार्टीको यो निर्णयले सुदूरपश्चिमका जनता तथा पार्टी संगठनमा रहेका नेता र कार्यकर्ताको घोर अपमान भएको उबताए । रावलले पार्टीको यो निर्णयले पार्टीको हीत र एकतामा आघात पुगेको उल्लेख गर्दै आम निर्वाचनको चर्चा हुन थालेपछि चुनाव नलड्ने भनेर सुनियोजित प्रचार गरिएको बताए । 

नेता रावलले युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनेर चिनिएका एकनाथ ढकालको समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा सदस्य सुनिश्चित गर्ने, निरंकुश व्यवस्थामा नेकपा एमाले नेता र कार्यकर्ता प्रताडित गर्ने व्यक्तिलाई हेटौंडामा उम्मेदवार बनाउने, आफैँले प्रतिक्रियावादी भनेको राप्रपा र अध्यक्ष ओली केपी ओली र माधव नेपालको राजविराजमा हत्यासम्म गर्ने दुष्प्रयासका साथै संविधान दिवसलाई कालो दिवसको रुपमा र एमालेलाई नश्लवादी पार्टी भन्ने जसपासँग चुनावी साँठगाँठ गर्ने, लोसपाका मानिसलाई बिहान पार्टी प्रवेश गराइ दिउँसो उम्मेदवार बनाउने, धन र सत्ताको अनेकौँ कर्म र कुकर्म गरेकाहरुलाई धमाधम उम्मेदवार बनाउने कार्य पार्टीको कुन सिद्धान्त, विधि र अनुशासन भित्र पर्छ ? भनी प्रश्नसमेत गरे । 

नयाँलाई अवसर दिने कुरा पार्टी अध्यक्ष र निकटहरुको हकमा लागू हुन नसकेको उनको भनाई छ । रावलले ओलीप्रति कटाक्ष गर्दै बहुमतको सरकार हुँदा आधा समय बालकोट र अस्पतालमा समय बिताउनेले टिकट पाउने तर देश र जनताको हीतका लागि आवाज उठाउने व्यक्तिलाई टिकट नदिएकोप्रति आक्रोश व्यक्त गरे । त्यस्तै, संसदमा राष्ट्रियताको पक्षमा आवाज उठाउने एमालेकी नेतृ गंगा चौधरीलाई पनि टिकट नदिएबाट एमाले अध्यक्ष ओलीमाथि अहिले गम्भीर प्रश्न उठेको छ । उनी अहिले स्वतन्त्ररुपमा उम्मेदवारी दिन बाध्य भएकी छन् । 

Advertisement

Advertisement