भट्टराईको प्रश्न– देशकै ठूलो भन्ने पार्टी कांग्रेसले स्वर्गीमलाई टिकट दिएन, देश कसरी बन्छ ?

Advertisement

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपाली काँग्रेसले अर्थविद् स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका छन् । 

शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान)ले गरेको कार्यक्रममा उनले काँग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाएका हुन् । काँग्रेसप्रति कटाक्ष गर्दै भट्टराईले देशकै ठूलो भन्ने दाबी गर्ने नेपाली काँग्रेसले विद्वान व्यक्तित्वहरुलाई निर्वाचन लड्नबाट वञ्चित गराएर देश विकास हुन नसक्ने तर्क गरे । 

Advertisement

उनले विज्ञहरुलाई देशभन्दा बाहिर पठाएर मुलुकभित्र गरिव, निमुखा मात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने औंल्याए । भट्टराईले नेपालमा सबैले आफैँले आफैँलाई ठग्ने अवस्थामा पुगेको बताए । 

उनले भने, ‘हाम्रो देशमा सबैले सबैलाई ठग्दै हामीले आफैँले आफैँलाई ठग्ने अवस्थामा पुग्यौं । सबैले आत्मा समीक्षा गर्नु जरुरी छ । अहिले आफू तीन पटक निर्वाचन जितेर अहिले निर्वाचनबाट बाहिरिएको छु । हामीले दोहोरो कर्म गर्ने आफूतिर नहेर्ने उपदेश दिने ठूला कुरा गर्ने अन्त्यमा देश छाडेर अन्य देशमा गएर बस्ने र नेपालमा गरिव, निमुखा मात्रै बस्ने हो भने नेपाल कहिल्यै पनि बन्दैन् । नेपालको सबै कुरा बुझ्ने विद्वान स्वर्णिम वाग्ले हुनुहुन्छ । वाग्ले जस्तो मान्छेलाई आफूलाई सबैभन्दा ठूलो लोकतन्त्र भन्ने पार्टीले चुनाव लड्ने टिकट पनि दिएन । अनि देश बन्छ । विकास भनेको समय हो । समयको व्यवस्थापन नभएसम्म देशको समृद्धि हुँदैन । विकास र मुलुकमा उत्पादन नबढाएसम्म दिगो विकास पनि हुँदैन ।’

भट्टराईले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने भन्दै आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर दिगो विकास गर्नु आवश्यक रहेको बताए । 

Advertisement

Advertisement