‘समृद्धिको प्रकाशबाट कोही वञ्चित नहुने ग्यारेन्टी गछौं, युवा विदेशिनुपर्ने बाध्यता उल्टिन्छ’

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी निर्वाचनका लागि आफ्नै पार्टीका प्रभावशाली नेताहरुले टिकट नपाउनुको कारण गठबन्धन रहेको बताए । 

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले सत्तारुढ गठबन्धनका नेताहरुलाई मिलाएर देशलाई विकासको दिशामा अग्रसर बनाउनुपर्ने भएकाले पनि पार्टी भित्रका केही प्रभावशाली नेताहरुलाई आगामी निर्वाचनका लागि टिकट दिन नसकिएको बताए । 

Advertisement

महतले गठबन्धनलाई मिलाउनुपर्ने कारणले पनि आगामी निर्वाचनमा काँग्रेसबाट धेरै ठाउँमा उम्मेदवार नरहेको बताए । उनले आगामी गठबन्धन सरकार पनि नेपाली काँग्रेसको नेतृत्वमा बन्ने उल्लेख गर्दै लोकतन्त्रलाई संस्थागत गर्ने, संविधानमा भएका व्यवस्थाहरुलाई कार्यान्वयन गर्ने, लोकतान्त्रिक संस्कृतिलाई जीवन पद्धति बनाउने नै काँग्रेस पार्टीको लक्ष्य भएको जिकिर गरे । 

महतले आगामी गठबन्धन सरकारले लोकतान्त्रिक मूल्य र मान्यता, कानूनी शासनको आधारसिलामा रहेर देशमा समृद्धि सिर्जना गर्ने, हरेकलाई कुनै पनि वर्ग, समूह, क्षेत्र, समृद्धिको प्रकाशबाट कोही पनि वञ्चित हुन नदिने ग्यारेन्टी लिने बताए । उनले गठबन्धन सरकारले आगामी निर्वाचन जितेको खण्डमा कुनै पनि नेपाली आर्थिक अभावका कारण शिक्षा र स्वास्थ्यको आधारभुत अधिकारबाट वञ्चित हुन नदिने प्रतिवद्धता जनाए । 

महतले नेपाली युवाहरुलाई देशभित्र रोजगारी प्राप्त नभएको कारणले विदेशिनुपर्ने अहिलेको बाध्यतालाई उल्ट्याएर स्थिर, जनताप्रति, अधिकारप्रति समर्पित सरकार निर्माण गर्ने बताए । उनले देशभित्र नै रोजगारी सिर्जना गर्ने, लगानी वृद्धि गर्ने र उद्योगमैत्री वातावरण सिर्जना गर्ने र वातावरणमैत्री अर्थतन्त्रलाई अघि बढाइ देशमा रहेको ठूलो व्यापार घाटालाई कम गर्ने बताए । 

प्रवक्ता महतले पूर्वीय सभ्यता, संस्कृतिलाई कतिपय अवस्थामा बेवास्ता गरेको भन्दै आगामी दिनमा प्राथमिकतामा राखेर आफ्नै संस्कृति र सभ्यतालाई अघि बढाउने जिकिर गरे । पछिल्लो समय धर्म संस्कृतिको रक्षा गर्न नसकेको भन्दै जनस्तरबाट कांग्रेसको चर्को आलोचना हुन थालेपछि उनले यस्तो बताएका हुन् । 

Advertisement

Advertisement