प्रधानमन्त्री बन्न मेरो योग्यता पुगिसक्यो, म कमजोर छैन्ः प्रकाशमान सिंह

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको दावी प्रस्तुत गरेका छन् । न्यूज एजेन्सीसँगको कुराकानीमा उनले आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको बताए । 

काँग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू हरकिसिमबाट योग्य रहेको बताउँदै सिंहले आफूले पार्टीका तल्लो स्तरका कमिटीदेखि महामन्त्रीसम्म बनेर पार्टी सञ्चालन गरिसकेकोले सरकारको नेतृत्व गर्न कमजोर नभएको जिकिर गरे । 

Advertisement

नेता सिंहले देशको उपप्रधानमन्त्री बनिसकेको उल्लेख गर्दै अबको निर्वाचनपछि हरेक किसिमबाट प्रधानमन्त्री बनेर देश सञ्चालन गर्न र देशमा सुव्यवस्था, राजनीतिक स्थिरता गराउन आफू सक्षम रहेको बताए । उनले आफ्ना अनुभवले कुन पदका लागि योग्य छु भन्नेकुरा बोलिसकेको बताउ । 

प्रधानमन्त्रीको लागि अवसर पाए देशमा केही गरेर देखाउने भोक आफूमा रहेको सिंहको भनाई छ । उनले आफूमा कुनै किसिमका लोभ नरहेको उल्लेख गर्दै प्रधानमन्त्री बन्नका लागि आफूमा सबै किसिमको योग्यता पुगिसकेको दावी गरे । 

सिंहले भने, ‘म शुरुवाती चरणदेखि पार्टी प्रतिवन्धित हुँदादेखि अधिकार प्राप्त गर्नको लागि जनआन्दोलन, सत्याग्रह, सबैमा होमिएको, जेल जीवन बिताइसकेको, ग्रास लेभलदेखि जिल्ला पनि सम्हालीसकेको, नेविसंघदेखि लिएर नेपाली काँग्रेसको काठमाडौं जिल्ला पटकपटक नेतृत्व सभापति भएर काम गरिसकेको छु । संगठनलाई राम्रोसँग मैले बुझेको छु । केन्द्रिय सदस्य विभिन्न पदमा बसेर काम गरेको छु । दोस्रो संविधान सभामा संविधान जारी गर्दा उपप्रधानमन्त्री थिएँ । त्यसबेला नेपाली काँग्रेसको उपनेता पनि थिएँ । यस पटक नयाँ संविधान जारी गरिसकेपछिको प्रथम आम निर्वाचनपछि संसदीय दलको नेताको लागि मैले प्रतिष्पर्धा गरेको व्यक्ति हुँ ।’ 

उनले थपे, ‘म केको लागि फिट छु भन्नेकुरा म बोल्नु भन्दा पनि मेरो अनुभव र विगतका गतिविधिले के देखाउँछ भन्दा अवसर पायो भने म स्पष्ट छु, नियत साफ छ, लोभ छैन, मोह छैन, म केही गरेर देखाउनसक्छु भन्ने आत्मविश्वास छ । मौका पायो भने म गरेर देखाउँछु । मसँग अनुभव छ, त्यसैले मनदेखि नै देखेको छु, भोगेको छु, मौका पाए गर्न नसक्ने कुरा होइन । पहिला सांसद बन्नुप¥यो, त्यसपछि नेपाली काँग्रेसको संसदीय बोर्ड इलेक्ट भएकाहरु बीचमा चुनाव हुनुप¥यो । त्यसमा ब्रेक गर्नसक्ने क्राइटेरिया सबै पुगिसकेको छ । हेरौँ सिच्वेशन के हुन्छ ।’

नेता सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा आफूबिरुद्ध  धेरै स्वतन्त्र र अन्य पार्टीका उम्मेदवारहरु खडा भएपनि स्थानीयहरुको कामका लागि आफू नै योग्य रहेको जिकिर गरे । उनले स्वतन्त्र उम्मेदवारहरु अहिले परीक्षणको क्रममा रहेकाले सबैले एकअर्काको गलत प्रचारप्रसार नगरी आफ्ना एजेण्डाहरुलाई जनताबीचमा लैजानुपर्ने बताए । बहुलवादमा आधारित संसदीय शासन प्रणाली भएकाले सबैले आफ्नो स्वतन्त्र अधिकारलाई प्रयोग गर्न पाउने उल्लेख गर्दै सिंहले शुद्ध प्रतिष्पर्धामा उत्रिने संस्कृतिको विकास गर्न सुझाव दिए । 

नेता सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रप्रति इंगित गर्दै आफ्नो निर्वाचन क्षेत्रमा भएको दललाई फुटाइ अर्को दलमा मिलेकाहरु पनि रहेको तर जनताको साथ आफूलाई रहेकाले निर्वाचन जित्नेमा ढुक्क रहेको दावी प्रस्तुत गरे । 

Advertisement

Advertisement