आचारसंहित उल्लंघन गर्ने ३५ उम्मेदवारलाई कारबाही गर्ने निर्वाचन आयोगको अन्तिम तयारी

Advertisement

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरुलाई कारबाही गर्ने तयारी थालेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढ्ने पक्का भएको जनाएको हो । 

बुधवार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहीता उल्लंघनका उजुरी परेको तर ३५ जना उम्मेदवारहरुले आचारसंहिता बढी नै उल्लंघन गरेको पाइएको भन्दै कारबाहीको तयारी गरेको बताए । उनले आचारसंहीता उल्लंघन गर्ने उम्मेदवारहरुको कसुर प्रवृत्तिको गहन मूल्यांकन र विश्लेषण गर्दा कारबाहीको भागिदार बन्ने देखिएको बताए । 

Advertisement

भण्डारीले आचारसंहिता धेरै उल्लंघन हुने समय कार्तिक १८ देखि मंसिर २ भएकाले आफूले बनाएका नीति नियमको पूर्ण पालना र कार्यान्वयन गर्न उम्मेदवारीहरुलाई आग्रह गरे । उनले निर्वाचन आचारसंहिता अहिले पनि विभिन्न तरिकाबाट उल्लंघन भइरहेको भन्दै उल्लंघन गर्ने जो कोही उम्मेदवारहरुलाई पनि आयोगले कारबाही गर्ने चेतावनी दिए । 

भण्डारीले ऐन, कानून बनाउनेहरुले नै आचारसंहिताको उल्लंघन गर्न नपाइने बताए । उनले अहिले पनि विभिन्न दलहरुले अगुवा कार्यकर्ता भेला, प्रशिक्षण लगायतका आचारसंहिताको उल्लंघन गरिरहेको बताए । भण्डारीले हरेक उम्मेदवार र दलहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयलाई आयोगले प्रमाण संकलन गरी गहन अध्ययन गरिरहेको पनि बताए । 

निर्वाचन आयुक्त भण्डारीले नेकपा (एकीकृत समाजवादी)का नेता कृष्णकुमार श्रेष्ठले बारा क्षेत्र नम्बर ४ मा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन दिएर अन्तवार्ता शुरु गरेको विषयमा पनि उजुरी परेकाले नेता श्रेष्ठलाई आयोगले स्पष्टीकरण सोधेको बताए । उनले आयोगले यस सन्दर्भमा प्रमाण जुटाउने काम गरिरहेको बताए । 

भण्डारीले आयोगले उम्मेदवारहरुले दिएको जवाफका बारेमा मात्रै सही, गलत नछुट्याउने भन्दै पर्याप्त प्रमाण संकलन गरी आचारसंहीता उल्लंघन गरेको पाइए कारबाहीको भागिदार बनाउने बताए । 

उनले देशको नीति निर्माण र शासन सम्हाल्न जाने मानिसले शुरुदेखि नै ऐन, नियम र आचारसंहीता उल्लंघन गर्नुले देशका लागि नयाँ नीति निर्माण गर्न नसक्ने भन्दै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरे । 

Advertisement

Advertisement