‘गठबन्धनले जिते सुशासन दिन्छ, युवालाई स्वरोजगार बनाउँछ, विदेश गई भौंतारिनबाट मुक्त गर्छ’

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिगमनलाई परास्त गर्छौं भन्ने संकल्प लिएर चुनावमा लाग्न गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई सुझाव दिएका छन् । 

शुक्रवार गठबन्धनको तर्फबाट पोखरामा आयोजित कार्यक्रममा उनले राष्ट्रमाथि संविधानको रक्षा गर्ने ठूलो चुनौती आएको भन्दै चुनौतीको सामना गर्न गठबन्धन एक हुनु आवश्यक भएको बताए । पौडेलले आफ्ना पार्टीका सिद्धान्त, झण्डा र अडानलाई छोडेर प्रतिगमनलाई परास्त गर्नका लागि र गठबन्धनलाई जिताउनका लागि निर्वाचन प्रचारप्रसारमा लाग्न पनि निर्देशन दिए । 

Advertisement

उनले कसरी गठबन्धनका उम्मेदवारलाई जिताउने ? भन्ने सोचेर एकता र समझदारी बनाउन आवश्यक भएको बताउँदै गठबन्धनले जितेको खण्डमा देशलाई सुशासन दिने, युवाहरुलाई स्वरोजगार बनाउने र विदेशमा गइ भौंतारिनुपर्ने बाध्यताबाट मुक्त गर्ने बताए । गठबन्धनले जित्ने कुरा ठूलो नभइ प्रतिगमनलाई रोक्ने कुरा नै ठूलो भएको पौडेलको तर्क छ । 

उनले भने, ‘आफ्ना पार्टीका सिद्धान्त, झण्डा सबैथोक छन्, तर हामी एउटा साझा मुद्दामा एक भएका छौँ । हामीले हरेक जिल्ला, निर्वाचन क्षेत्र, गाउँपालिका, नगरपालिका, वडासम्ममा सबैले समाजवादी संगठन बनेर कसरी गठबन्धनका उम्मेदवारलाई जिताउन सकिन्छ ? कसरी सफल पार्न सकिन्छ ? कसरी लोकतन्त्र बचाउन सकिन्छ ? भन्ने कुरालाई मनमा राखेर, अरु कुरा बिर्सेर, महान लक्ष्य राखेर एकता र समझदारी बनाउनु होला । आपसमा समझदारी बनाउनुस् ।’ 

वरिष्ठ नेता पौडेलले सबै गठबन्धनका दल र नेता, कार्यकर्ताहरुले अतितलाई बिर्सिएर भविष्यलाई उज्यालो बनाउन सहयोग गर्नुपर्ने बताए । 

Advertisement

Advertisement