लिङ्देन र मिश्र सरकारमा ‘जानहुन्न’ भन्ने पक्षमा, राप्रपाका पूर्वपञ्चहरु भने सत्तामा जान लालयीत

Advertisement

काठमाडौं । चल्तीका राजनीतिक दलहरुमा अरुभन्दा फरक विचारधारा राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा सरकारमा जाने नजाने विचारमा मतभेद देखिएको छ । 

उक्त पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन बाध्यताले एमाले नेतृत्वको सत्तारुढ गठवन्धनलाई समर्थन गर्न आफूहरु तयार भए पनि सरकारमा जान नहुने पक्षमा देखिएका छन् भने सो पार्टीभित्र विशेषगरी पूर्वपञ्चको रुपमा चिनिने पूराना नेताहरु भने सत्तामा जान लालयीत देखिएका छन् । 

Advertisement

राप्रपाको कार्यसम्पादन समितिको बैठकमा सरकारमा सहभागी हुने विषयमा केही पूराना नेताले धारणा राखेपछि लिङ्देन धर्मसंकटमा परेका छन् । राप्रपाका बहुसंख्यक नेता कार्यकर्ता भने सरकार विपक्षलाई समर्थन नगरी राप्रपाले नै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने पक्षमा छन् । 

संवैधानिक राजसंस्था, हिन्दुराज्य, गणतन्त्र तथा प्रदेशहरुको खारेजी जस्ता एजेण्डा बोक्दै आएको राप्रपाले राजनीतिक स्थिरिताका लागि भन्दै एमाले नेतृत्वको गठवन्धनलाई समर्थन गरेका थियो । समर्थन गरे पनि सरकारमा सहभागी हुननहुने लिङ्देन पक्षधर नेताहरुको भनाई छ । सरकारमा सहभागी हुँदा आफूहरुप्रतिको जनविश्वास गुम्ने र कमल थापालाई जसरी नै आफूहरुलाई पनि हेर्ने सो पक्षको चिन्ता छ । सरकारमा जान नहुने पक्षमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि छन् । उनले पनि सरकार बाहिर बसेर आफ्ना एजेण्डाहरु लागू गर्न दबाब दिनुपर्ने अडान राखेका छन् । 

तर सरकारमा जान लालयीत पक्षले भने सरकारमा जाँदा नै लाभ हुने तर्क गरेको छ । सरकारलाई समर्थन जारी राख्ने वा नराख्ने विषयमा छलफल गर्न सो पार्टीको कार्यसम्पादन समितिको बैठक जारी छ । राप्रपाले आउँदा पुस २७ गते राष्ट्रिय एकता दिवस घोषणा गरी सार्वजनिक विदा दिन माग गर्ने तयारी गरेको छ । 

Advertisement

Advertisement