आफ्नो पहलका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण संभव भएको दाहालको दावी

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बाँकी जीवन मुलुकको आर्थिक संवृद्धि र सुशासनका लागि दिने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका क्रममा आइतबार उनले सो कुरा बताएका हुन् । 

बाँकी जीवन आर्थिक संवृद्धि र सुशासनका लागि दिने भनेर निर्वाचनका बेला जनताको सामू आफूले कवुल गरेको सुनाउँदै दाहालले सोही अनुसार आफूले काम गर्ने बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पोखरामा मात्रै नभई सिँगै मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास समेत व्यक्त गरे । 

Advertisement

प्रधानमन्त्री दाहालले पोखरा विमानस्थल निर्माणका लागि आफूले लिएको पहलकदमीबारे चर्चा गर्दै आफैले प्रधानमन्त्रीको रुपमा उद्घाटन गर्न पाउँदा हर्ष र गर्व दुवै लागेको समेत बताए । कास्की आफ्नो जन्मस्थल भएको पनि उनले बताए । त्यसले आफूलाई अझ नयाँ ऊर्जाका साथ काम गर्न प्रेरणा मिलेको दाहालले बताए । 

दाहालले भने, ‘नेपाल सरकारको तेस्रो कार्यकालको प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक हप्ता बित्न नपाउँदै सुन्दर र पर्यटकीय नगरीमा नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको हेर्न पाउँदा हर्ष र गर्व महसुस भएको छ । मैले शान्ति सम्झौतामा आएदेखि नै लगातार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बारेमा यहाँका स्थानीय जनप्रतिनिधिहरुसँग, विभिन्न राजनीतिक दलका नेताहरु, कार्यकर्ताहरु, उद्योग व्यवसायीहरु र आम जनतासँग संवाद र अन्तरक्रिया गर्दै आएका ती दिनहरु मैले स्मरण गरेको छु ।’ 

उनले थपे, ‘यो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुपर्दछ भनेर यहाँका जनताले पटकपटक गरेको प्रयासमा आन्दोलन, संघर्ष, अनसनहरु, ती अनसन तोडनका लागि म आफैले लिएका पहलकदमी र भूमिकाहरु पनि आज मैले स्मरण गरिराखेको छु । साथसाथै मैले पहिलो पटक प्रधानमन्त्री हुँदा या दोस्रो पटक प्रधानमन्त्रीको रुपमा पनि यो विमानस्थल निर्माणको विषयमा चिनियाँ दूतावासमा मात्रै होइन, चीन भ्रमणका सन्दर्भमा चिनियाँ नेताहरुसँग मैले लगातार गरेका संवादहरु, अन्तरक्रियाहरुहरु स्मरण गरिरहेको छु ।’ 

प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक विकासका लागि कनक्टिभिटिको महत्वपूर्ण भूमिका भएको भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले त्यसमा ठोस योगदान पुर्याउने बताए । 

Advertisement

Advertisement