मिटरब्याज पीडितको समस्या समाधान नगरे सडक आन्दोलनमा उत्रिने लिङ्देनको चेतावनी

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन् । 

मंगलबार प्रतिनिधिसभामा उनले मिटरब्याज पीडितहरुको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरुमाथि हिजो (सोमबार) निर्मम ढंगले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भत्सर्ना समेत गरे । गरिव र निमुखा ती मानिसहरुमाथि किन आक्रमण गर्नु परेको हो ? भन्दै लिङ्देनले सरकारलाई प्रश्न गरे । 

Advertisement

उनले सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरुमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको बताए । लिङ्देनले भने, ‘देशमा कसैले पनि अन्यायमा पर्नु पर्दैन । कसैले पनि हेपिनु पर्दैन । राज्य अभिभावक छ भनेर राज्य अभिभावकको रुपमा उभिनुपर्नेमा न्यायको माग गर्दै आएका मिटरब्याज पीडितहरुलाई सरकारले हिजो जुन निर्मम ढंगले आक्रमण गरेको छ । त्यसको म निन्दा र भत्सर्ना गर्न चाहन्छु ।’ 

उनले थपे, ‘यतिबेला ती निमुखा मानिसहरुमाथि आक्रमण भएको छ । जुन बेला यस्तो सरकार छ । जसले समाजमा गरिवहरुको अथवा सर्वहारावर्गको अधिनायकत्व स्थापना हुनेछ, स्थापना गर्नेछौं भनेर सपना बाँढेको थियो । त्यो सपना बाँडने पार्टी र उसको नेतृत्वमा अहिले सरकार छ । तर यति नै यो गरिव र निमुखामाथि राज्यले किन बर्बर आक्रमण किन भईरहेको छ ? हामी भन्न चाहन्छौंकि सरकारले मिटरब्याज पीडितहरु र अहिले तराईमा आन्दोलनरत रहेका हरुवाचरुवाहरु जो पुनस्थापनाको काम गरिराखेका छन । उनीहरुको मागलाई सरकारले समयमै सम्बोधन गरोस् । अन्यथा एउटा जिम्मेवार राजनीतिक पार्टीको नाताले उनीहरुको साथमा सडक संघर्षमा जाने घोषणा समेत गर्न चाहन्छु ।’

Advertisement

Advertisement