प्रधानमन्त्री दाहालको अनुहार हेर्न पनि पाइएन्ः पन्त

Advertisement

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालको दर्शन पाउन पनि दूर्लभ भएको टिप्पणी गरेका छन् । 

मंगलबार संसदमा उनले दाहालको संसदमा अनुहार हेर्न पनि दूर्लभ भएको बताएका हुन् । पन्तले भारत भ्रमणबारे संसदलाई अझै जानकारी नगराएको भन्दै आलोचना समेत गरे । 

Advertisement

सांसदहरुले पटकपटक आग्रह गर्दा पनि प्रधानमन्त्री दाहालले संसदमा त्यसबारे एक शब्द पनि नबोलेको भन्दै उनले असन्तुष्टि समेत व्यक्त गरे । पन्तले प्रधानमन्त्री दाहालको भारत भ्रमण फलदायी होस भन्ने आफूहरुले चाहेको पनि बताए । 

भारतसँगको सम्बन्ध नेपालको लागि महत्वपूर्ण हुने उल्लेख गदै उनले प्रधानमन्त्री दाहालको सो भ्रमण सफल रहोस भनी कामना समेत गरे । पन्तले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमण हाम्रा लागि महत्वपूर्ण छ । प्रधानमन्त्रीको भारत भ्रमण राम्रो होस् । सफल होस् । र, त्यो मुलुकका लागि फलदायी होस् भन्ने शुभकामना पनि छ । तर सबभन्दा दुखको कुरा के हो भने यो भारत भ्रमणको एजेण्डाहरु के–के हुन ? भन्ने कुराहरु संसद चलिरहेको यो बेला पनि हामीले अखबारहरुमा पढनु परेको छ । बाहिर माध्यमहरुमा सुन्नुपरेको छ ।’ 

उनले थपे, ‘संसदभित्र हामीले पटकपटक आग्रह गर्दा पनि प्रधानमन्त्रीले आएर आफ्नो भारत भ्रमणबारे एक शब्द भन्नु भएको छैन् । प्रधानमन्त्रीको त अनुहार हेर्न पनि, दर्शन पाउन पनि दुर्लभ भईसक्यो । त्यसैले यो महत्वपूर्ण विषयको बारेमा संसद भित्र छलफल होस् । आज पनि यस विषयमा कतिपय सांसदहरुले आफ्नो मत राख्नु भयो । सभामुख महादय, भारतसँगको सम्बन्ध हाम्रा लागि अत्यन्तै महत्वपूर्ण छ । र, त्यो सम्बन्ध सुमधुर होस, सुदृढहोस् र, नेपालको लागि फलदायीहोस भन्ने हाम्रो चाहना छ ।’

Advertisement

Advertisement